दलितको घरमा डोजर प्रकरण : सिराहाका सिडिओ गृहमा तानिए

शुक्रबार, ७ चैत, २०८१
डिजिटल संस्करण

महायज्ञका नाममा दलित परिवारको घरमा डोजर चलाइएको घटनामा गम्भीरतापूर्वक काम नगरेको भन्दै सिराहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन्। 

गृहमन्त्री रमेश लेखकले दाहाललाई मन्त्रालय तानेर विश्वप्रकाश अर्याललाई सिराहा पठाएका हुन्। अर्याल कपिलवस्तुको सिडिओ थिए।  महायज्ञ मूल आयोजक समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष शिवजी यादव र औरही– ५ का पूर्ववडाध्यक्ष, जनमतका पालिका अध्यक्षसमेत रहेका समितिका सचिव दिलीपकुमार यादवको उपस्थितिमा १० फागुनमा दीपक मल्लिक (डोम)को घरमा जेसिबी चलाइएको थियो। घटना बाहिरिँदा पनि सिडिओ दाहाल र एसपी रमेश पण्डितले घटनालाई गम्भीरतापूर्वक नलिएको निष्कर्ष गृहको छ।

सिडिओ दाहाल र एसपी पण्डित बिहीबार मात्र घटनास्थल औरही पुगेका थिए। उनीहरूले ‘सहमतिमै घर सारिएको, त्यसमा लिखित सहमतिपत्र रहेकाे र कृषि बजारीकरणको टेन्डरसमेत लागिसकेको कागजातबाट देखिन आएको छ’ भनेर माथिल्लाे निकाय (गृह र प्रहरी प्रधान कार्यालय)मा रिपोर्टिङ गरेका थिए।

तर, लिखित सहमति भनिएको पत्रलाई ‘जग्गाको प्रमाण हो’ भन्दै झुक्याएर २५ दिनअघि (११ फागुन) को मिति राखेर दीपकको ‘मन्जुरीनामा’ गराइएको समाचार सार्वजनिक भइसकेको छ। गृहमन्त्री लेखकले घटनाको सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न निर्देशन दिइसकेको उनको सचिवालयले जनाएको छ।

सुझावित समाचार