तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको संख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको वासस्थान मासिँदै जान थालेको हो । भँगेराको चिरबिर आवाज सुनिएपछि बिहान भएको थाहा हुन्थ्यो ।
‘घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा देखिने गरेका थिए । अहिले ती सबै विगत भइसके,’ शुक्लाफाँटा नगरपालिका– ३ का पहरू दहितले भने, ‘अब न भँगेराको चिरबिर आवाज सुनिन्छ, न त पहिलेजस्तो भँगेरा आँगनमा राखेको बिस्कुन खान आउँछन् ।’ आक्कलझुक्कल मात्र भँगेरा देखिने गरेको उनी बताउँछन् ।
तीव्र रूपमा भइरहेको सहरीकरणलाई उनी भँगेरा विनाशको कारण मान्छन्। भँगेरालाई गुँड लगाउन ठाउँ नै नभएपछि संख्या घट्दै जानु स्वाभाविक भएको उनको भनाइ छ । भँगेराको संख्या घट्दै जानु चिन्ताको विषय भएको उनी बताउँछन् ।
चराविज्ञ हिरुलाल डगौराका अनुसार मोबाइलका टावरबाट निस्कने विकिरणले भँगेराको दिशा पत्ता लगाउने प्रणालीलाई असर गर्छ । प्रजनन क्षमतामा प्रतिकूल असर पर्छ । विकिरणले मस्तिष्कमा असर गर्दा भँगेराको मृत्यु हुने गरेकोसमेत पाइएको छ ।
‘ध्वनि प्रदूषणले पनि भँगेरालाई असर गर्छ’, उनले भने, ‘खेतबारीमा किसानले विषादीको अत्यधिक प्रयोग गर्दा भँगेराको मृत्यु हुने गरेको छ ।’
खेतबारीमा हुने किरा विषादीका कारण मर्ने गरेकाले भँगेरालाई आहारा पनि कम हुँदै गएको उनले बताए। काग, बिरालो, अन्य सिकारी चराले भँगेराको सिकार गर्ने भएकाले पनि संख्यामा कमी देखिएको उनको भनाइ छ । उनका अनुसार भँगेरा जैविक विविधता र इकोसिस्टमका लागि महत्त्वपूर्ण छ । भँगेरा जोगाउन घरघरमा गुँड लगाउन सक्ने व्यवस्था गरिनुपर्छ । गुँड लगाउने वातावरण बनाउने कार्यसँगै छानामा दाना र पानीको व्यवस्थाजस्ता ससाना कार्य गरे भँगेरालाई जोगाउन सक्छौँ ।
भँगेरालाई जोगाउन किसानले संयमतापूर्वक विषादीको प्रयोग गर्नुपर्ने उनी सल्लाह दिन्छन् । चेतना जगाउने उद्देश्यले प्रत्येक वर्षको मार्च २० मा भँगेरा दिवस मनाउने गरिन्छ । यस वर्षको भँगेरा दिवसको नारा ‘म भँगेरालाई माया गर्छु’ (आई लभ स्प्यारो) रहेको छ ।
चरा संरक्षणका क्षेत्रमा काम गर्ने संघसंस्थाले भँगेराबारे चेतना फैलाउने काम गरेका छन् । चराप्रेमीले आ–आफ्नो घरवरिपरि २० मिनेट भँगेरा गणनाको काम गरेका छन् ।
कञ्चनपुरमा भँगेरालाई गुँड बनाउन सहजताका लागि घरको बरन्डा, घरवरिपरिका रुखमा कागजका बट्टा राख्ने कार्य गरिएको चरा संरक्षणकर्मी सुभन चौधरीले बताए। विद्यार्थीमाझ छलफल, अन्तर्क्रियालगायत कार्यक्रम पनि गरिएका छन् । रासस