राष्ट्रिय दलित आयोगका पूर्वकार्यवाहक अध्यक्ष मञ्जित ताम्राकारलाई ३ प्रश्न

शुक्रबार, ७ चैत, २०८१
डिजिटल संस्करण

२१ मार्च अर्थात् अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसको प्रभाव र महत्व कस्तो छ ?
दक्षिण अफ्रिकी अश्वेत समुदाय वर्षाैंदेखि रंगभेदमा थिए । त्यसको विरोध गर्दा २१ मार्च १९६० मा ६९ जना अश्वेत नागरिक मारिएका थिए । संयुक्त राष्ट्र संघले सन् १९६५ मा जाति तथा रंगभेदविरुद्धको महासन्धि पारित गर्यो । जसलाई नेपालले सन् १९७१ मा अनुमोदन ग¥यो । त्यसैअनुसार २१ मार्चलाई विश्वभर जाति तथा रंगभेदविरुद्धको दिवसका रूपमा मनाइन्छ । नेपालमा पनि सोही प्रकृतिको जातीय विभेद छ । जातीय विभेदका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न, सरकारको ध्यानाकर्षण गराउन र दबाब सिर्जना गर्न यस दिवसबाट सहयोग पुगेको छ ।  

नेपालले महासन्धि अनुमोदन गरेको वर्षाैं भयो । त्यसको कार्यान्वयनको अवस्था कस्तो छ ? 
महासन्धि अनुमोदन हुनु आफैँमा महत्वपूर्ण थियो । तर, त्यसको कार्यान्वयनको अवस्था भने कमजोर छ । नेपालले जातीय विभेद अन्त्य गर्न के–के काम गरियो भनेर हरेक दुई–दुई वर्षमा राष्ट्र संघमा ‘रिपोर्ट’ बुझाउनुपर्छ । त्यसका आधारमा संयुक्त राष्ट्र संघले विभिन्न सुझाव पनि दिन्छ । तर, नेपालले समयमै त्यो रिपोर्ट बुझाउने गरेको छैन । पछिल्लोपटक २००४ देखि २००१८ सम्मको रिपोर्ट एकैपटक बुझाइएको थियो । त्यसपछि रिपोर्ट बुझाइएको छैन ।  

नेपालमा जातीय विभेद अन्त्य गर्न के गर्नुपर्ला ? 
नेपालका गाउँघरमा जातीय विभेद चर्को भए पनि हामी भने सहरबाट जातीय विभेद अन्त्य गर्न खोजिरहेका छौँ । तसर्थ, अब जातीय विभेद अन्त्य गर्न पहिलो चरणमा गाउँबाटै चेतनामूलक कार्यक्रम, आन्दोलनलगायत गतिविधि गर्नुपर्छ । सहरका रेस्टुरेन्ट या तारे होटलमा कार्यक्रम गरेर मात्रै यो सम्भव छैन । सरकारमा प्रतिनिधित्व गर्ने दलित सांसद तथा मन्त्रीले पनि दलित अधिकारका लागि सशक्त आवाज उठाउनुपर्छ । दलितसम्बन्धी कानुन निर्माणमा प्रोत्साहन गर्नुपर्छ । 

सुझावित समाचार