नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको यही चैत ९ र १० गते हुने १०औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ। पार्टी जिल्ला कमिटीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जनाएको हो । साल भदौ ९ गते तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी स्थापना भएको नेकपा एसले गत असारमा सम्पन्न दसाैँ राष्ट्रिय महाधिवेशनले पारित गरेको नीति, कार्यक्रम र विधान अनुसार जिल्ला अधिवेशनको तयारीमा जुटेको सो पार्टीले जनाएको छ।
पत्रकार सम्मेलनमा नेकपा एसका पोलिटब्युरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले महाधिवेशनको कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधानअनुसार अधिवेशनमा होमिएको बताए। उनले रुपन्देहीमा जिल्लाको नेतृत्वमा आउन चाहनेहरू प्रतिनिधि अनिवार्य हुनुपर्ने प्रावधानलाई कार्यान्वयन गरिएको बताए। एमालेबाट विद्रोह गरेकाले सोही पार्टी स्थापनाको समयदेखि नै गणना गरी अधिवेशन दसाैँ रूपमा गर्न लागिएको उनले स्पष्ट पारे । उनले जिल्ला अधिवेशनका लागि रुपन्देही जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रहरूबाट प्रतिनिधिहरू छनाेट गर्ने काम सम्पन्न गरिएको उल्लेख गरे।
अधिवेशनको चैत ९ गते उद्घाटन र १० गते बन्दसत्र हुनेछ । बुटवल– १३ स्थित साइनो पार्टी प्यालेसमा हुने अधिवेशनको उद्घाटनमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरूलाई निमन्त्रण गरिएको उपसचिव टंक पोख्रेलले जानकारी दिए। अध्यक्ष नेपाल विदेश भ्रमणमा भएकाले प्रमुख अतिथिको छलफलपछि टुंगो लगाउने उनले बताए।
पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य प्रदेश पूर्वमन्त्री भगवती अधिकारी, प्रदेश कमिटी सदस्य हिराध्वज शाह, यम पछाई, जिल्ला उपाध्यक्ष चिनबहादुर गुरुङलगायतका नेताहरूको उपस्थिति रहेको थियो।