पटक–पटक तरलता (ऋण लगानीयोग्य पुँजी) अभावको समस्या सामना गर्दै आएका बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएको दुई वर्षभन्दा बढी भइसक्यो । कोरोनापछि पनि बैंकिङ क्षेत्रले झन्डै दुई वर्ष तरलता अभावको समस्या सामाना गर्नुपर्यो । तर, साउन ०७९ यता बैंकहरूमा तरलताको अवस्था सहज हुँदै आएको छ ।
कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ९० प्रतिशतसम्म पुग्ने गरी बैंकहरूले कर्जा प्रवाह गर्न सक्छन् । साउन ०७९ मा वाणिज्य बैंकहरूको औसत सिडी रेसियो ८८.३३ प्रतिशत थियो । अहिले फागुन ०८१ मसान्तसम्म आउँदा २० वाणिज्य बैंकको सिडी रेसियो ७९.२९ प्रतिशत कायम भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाउँछ ।
अहिले पनि वाणिज्य बैंकहरूमा मात्रै ६ खर्ब ४७ अर्बभन्दा बढी लगानीयोग्य पुँजी छ । फागुन मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप संकलन ६० खर्ब ३७ अर्ब छ । कर्जा प्रवाह भने ४८ खर्ब ५० अर्ब छ । कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म पुर्याउन पाइने हुँदा अझै निक्षेपको १०.७१ प्रतिशत रकम कर्जा प्रवाह गर्न सकिन्छ, जुन ६ खर्ब ४७ अर्ब हुन आउँछ । पछिल्लो दुई वर्षमा देखिएको आर्थिक शिथिलताले कर्जाको माग नबढेपछि बैंकहरूले पनि निरन्तर ब्याजदर घटाउँदै गएका छन् । तर, यसमा सरकारले कुनै चासो नदेखाएको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । ‘बढ्दो रेमिट्यान्सलगायतका कारण बैंकहरूमा तरलता थुप्रिएको छ । जिडिपीको २५ प्रतिशतको अनुपातमा रेमिट्यान्स आउँछ । ५० प्रतिशतभन्दा बढी रेमिट्यान्स बैंकिङ प्रणाली रहन्छ,’ उनले भने, ‘तर, यसरी बैंकिङ प्रणालीमा खर्बाैँ लगानीयोग्य पुँजी थ्रुपिएको छ । ब्याजदर पनि निकै कम छ । तर, सरकारले त्यसको सदुपयोग गर्न कुनै चासो देखाएको छैन । विदेशी मुद्रा सञ्चिति बढेको भन्दै आत्मरतिमा रमाएको छ ।’
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ पनि बैंकहरूमा दुई वर्षदेखि अधिक तरलता भएको बताउँछन् । ‘बैंकहरूमा अधिक तरतला भएको दुई वर्षभन्दा बढी भइसक्यो । त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप सुविधा दिइरहेको छ । यसैगरी, सरकारले पनि बैंकबाट ऋण लिएको अवस्था छ,’ उनले भने, ‘तर, सन्तोषजनक परिस्थिति छैन । बैंकहरू आफैँले कर्जा बढाउने अवस्था छैन । सरकारबाट ठोस योजना आउनुपर्ने आवश्यकताको महसुुस गरेका छौँ ।’
कर्जा प्रवाह गर्न सबै बैंकलाई सहज
सिडी रेसियोको आधारमा कर्जा प्रवाहका लागि सबै वाणिज्य बैंक सहज अवस्थामा छन् । त्यसमा सबैभन्दा धेरै सहज अवस्थामा राष्ट्रिय वाणिज्य बैंक देखिन्छ । फागुन मसान्तसम्म उक्त बैंकको सिडी रेसियो ६३.८६ प्रतिशतमा झरीसकेको छ । त्योअनुसार उक्त बैंकले अझै निक्षेपको २६.१४ प्रतिशत रकम कर्जा प्रवाह गर्न सक्छ । चार खर्ब ४७ अर्ब निक्षेप रहेको उक्त बैंकले अझै एक खर्ब १७ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न सक्छ । माछापुच्छ«े बैंकको सिडी रेसियो भने सबैभन्दा उच्च छ । फागुन मसान्तसम्म उक्त बैंकको सीडी रेसियो ८५.६५ प्रतिशत छ । त्योअनुसार उक्त बैंकले एक खर्ब ६८ अर्ब निक्षेपको ४.३५ प्रतिशत रकम कर्जा दिन सक्नेछ, जुन सात अर्ब ३१ करोड रुपैयाँ हुनेछ । उक्त बैंकको निक्षेपको आधारमा यसलाई सहज रूपमै हेरिएको छ ।
दुई खर्ब ८० अर्ब कर्जा प्रवाह
वाणिज्य बैंकहरूले चालू आवको पहिलो आठ महिनामा दुई खर्ब ७९ अर्ब ६८ करोड कर्जा प्रवाह गरेका छन् । गत असारसम्म उनीहरूको कर्जा प्रवाह ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ थियो । फागुन मसान्तसम्म आउँदा त्यो ४८ खर्ब ५० अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।
कति बढ्यो निक्षेप ?
यो आठ महिनामा बैंकहरूको निक्षेप संकलन भने दुई खर्ब ८२ अर्ब २७ करोड रुपैयाँले बढेको छ । गत असारसम्म वाणिज्य बैंकहरूमा ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप थियो । फागुन मसान्तसम्म आउँदा त्यो ६० खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । साउनमा ३९ अर्बले घटेको निक्षेप भदौमा ७३ अर्ब र असोजमा एक खर्ब ३३ अर्बले बढेको थियो । त्यसपछि कात्तिकमा १९ अर्बले निक्षेप घट्दा मंसिरमा ३३ अर्ब, पुसमा ५१ अर्ब, माघमा नौ अर्ब र फागुनमा ४० अर्बले बढेको छ ।