- आइसिसी च्याम्पियन्स ट्रफी आयोजनाको बजेट आठ अर्ब ६९ करोड रुपैयाँ थियो, तर आयोजक पाकिस्तानले प्रतियोगिता भरी एक अर्ब ३० करोड रुपैयाँ मात्र आम्दानी गर्यो
आइसिसी च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले सात अर्ब ३९ करोड रुपैयाँ घाटा व्यहोरेको छ । च्याम्पियन्स ट्रफीमा छिमेकी राष्ट्र भारतले ‘हाइब्रिड’ मोडेलमा सहभागिता जनाएपछि पाकिस्तानले अर्बौँ घाटा सामना गरेको पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले जनाएको छ । पाकिस्तानमा १९ फेब्रुअरीदेखि ९ मार्चसम्म च्याम्पियन्स ट्रफी आयोजना भएको थियो । सन् १९९६ को एकदिवसीय विश्वकपपछि पाकिस्तानले आइसिसीको दोस्रो बृहत् प्रतियोगिता आयोजना गर्न अवसर पाएको थियो ।
पाकिस्तानले च्याम्पियन्स ट्रफी आयोजना गर्न आठ अर्ब ६९ करोड बजेट छुट्याइएको थियो । टिकट र मिडियाबाट ५२ करोडसँगै अन्य विभिन्न स्रोतबाट पाकिस्तानले ७८ करोड रुपैयाँ आम्दानी गर्यो । भारतले पाकिस्तानमा नखेल्नु नै आयोजकले ठुलो घाटा सहनुपरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)को ‘हाइब्रिड’ मोडेलमा प्रतियोगितामा सहभागी हुने अडान पाकिस्तानले स्विकार्यो । हाइब्रिड मोडेलअनुसार च्याम्पियन्स ट्रफीका १० खेल पाकिस्तान र ५ खेल दुबईमा आयोजना भए । युएईले तीन समूह चरणका खेल, सेमिफाइनल तथा फाइनल खेल आयोजना गर्यो ।
भारतका सबै खेल युएईको तटस्थ मैदानमा भएको थियो । भारतले न्युजिल्यान्डलाई हराउँदै सन् २०१३ पछि आइसिसी च्याम्पियन्स ट्रफी हात पारेको थियो । अर्कोतिर पाकिस्तानमा तय भएको १० मध्ये तीन खेल वर्षाले प्रभावित बनाएको थियो ।
यी तीन खेलमा टससमेत हुन पाएन । पाकिस्तानले तीनवटै खेलका टिकटको सबै रकम दर्शकलाई फिर्ता गरेको थियो । नयाँ गद्दाफी रंगशालामा पाकिस्तानले न्युजिल्यान्डसँग मात्र खेल्न अवसर पायो । रावलपिण्डीमा बंगलादेशविरुद्धको खेल वर्षाले रद्द भयो । फेरि भारत फाइनलमा पुग्दा त्यसको असर आयोजकलाई परेको थियो । भारत सेमिफाइनल वा फाइनल नपुग्दा यी दुवै खेल पाकिस्तानमै हुने थियो ।
सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई हराउने आशा पाकिस्तानले गरेको थियो । यसकारण पाकिस्तानले फाइनलको टिकट बिक्री गरेको थियो । तर, एक पक्षीय रूपमा भारतले अस्ट्रेलियालाई हरायो । पाकिस्तानले फाइनलको टिकट फिर्ता गर्न बाध्य भयो ।
पाकिस्तानले ठुलो धनराशी खर्चेको थियो । सबैभन्दा धेरै बजेट रंगशालाको पुननिर्माणमै समावेश थियो । पिसिबीले रावलपीण्डी, कराँची र लाहोरको गद्दाफी रंगशालालाई विश्वस्तरीय बनाउन लगभग पाँच अर्ब ६० करोड रुपैयाँ खर्च गर्यो ।