बेलायतमा आयोजना हुने ‘द हन्ड्रेड बल’ क्रिकेट प्रतियोगिताको आइतबार भएको अक्सनमा पाकिस्तानी खेलाडी बिकेनन् । सय बलको प्रतियोगितामा ५० पाकिस्तानी खेलाडी ड्राफ्टमा समावेश थिए । ‘द हन्ड्रेड बल’मा सहभागी फ्रेन्चाइज टोली पाकिस्तानी खेलाडीलाई किन्न इच्छुक देखिएनन् । यस विषयले अन्तर्राष्ट्रिय जगत्मा सनसनी मच्चाएको छ । पछिल्लो समयमा एकदिवसीय र टी–२० फम्र्याटमा उत्कृष्ट प्रदर्शन गरिरहेका फास्टबलर नसिम साह, साहिन साह अफ्रिदी, सैम अयुब तथा सदाब खानजस्ता क्रिकेटरमाथि पनि कसैले बोली लगाएनन् ।
नसिम र सदाबले धेरै मूल्य पर्ने समूहको ड्राफ्टमा नाम राखेका थिए । उनीहरू एक लाख २० हजार पाउन्डको ड्राफ्टमा समावेश थिए । आयुब ७८ हजार पाउन्डको समूहमा थिए । पुरुष मात्र नभएर महिला पाकिस्तानी खेलाडी पनि ‘द हन्ड्रेड बल’मा विकेनन् । महिला खेलाडीमा अलिया रिआज, फातिमा साना, युरा अमिर, इमरान जाभेन तथा जवेरिया रौफजस्ता नाम चलेका खेलाडी थिए ।
पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी)ले आफ्ना खेलाडी प्रतियोगितामा बिक्री नहुनुलाई छिमेकी राष्ट्रको प्रभाव भएको जनाएको छ । भारतका कारण नै ‘द हन्डे«ड बल’मा आफ्ना खेलाडीमाथि कसैले बोली नलगाएको आरोप पिसिबीले लगाएको छ । ‘ड्राफ्टमा पुरुष ४५ र महिलामा पाँच खेलाडी थिए, तर कसैले पनि उनीहरूलाई अनुबन्ध गर्ने चाहना देखाएनन्,’ पिसिबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानी खेलाडीविरुद्ध नियतवश बोली नलगाएको देखिएको छ ।’
‘द हन्ड्रेड बल’का केही फ्रेन्चाइजमा भारतीय लगानी रहेको छ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा समेत आबद्ध व्यक्तिले बेलायतमा हुने प्रतियोगितामा पनि लगानी गरेका छन् । मुम्बई इन्डियन्स, लखनउ सुपर जायन्ट, सनराइजर्स हैदराबाद तथा दिल्ली क्यापिटल्सका मालिकले ‘द हन्ड्रेड बल’मा लगानी गरेको एजेन्सीले जनाएको छ । मुम्बईले ओभल, लखनउले म्यानचेस्टर, हैदराबादले नर्थ सुपरचार्जस तथा दिल्लीले वेस्ट ब्रोभमा लगानी गरेका छन् ।
बेलायतमा हुने ‘द हन्ड्रेड बल’को अक्सनमा ४५ पुरुष र पाँच महिला पाकिस्तानी खेलाडी ड्राफ्टमा थिए, तर सहभागी कुनै पनि टोलीले उनीहरूमाथि बोली लगाएनन्
आइपिएल मालिकका ४९ देखि ७० प्रतिशत लगानी
अन्तर्राष्ट्रिय मिडियाहरूले पाकिस्तान खेलाडी अक्सनमा बिक्री नहुनुको पछाडि आइपिएलको प्रभाव भएको जनाएका छन् । ‘द हन्ड्रेड बल’मा आठमध्ये चार टोलीमा भारतीय व्यापारीको लगानी छ । उनीहरूले ४९ देखि ७० प्रतिशत सेयर किनेका छन् । त्यसैले उनीहरूले पाकिस्तानी खेलाडी टोलीमा भित्र्याउन चाहेनन् । मुम्बईले द ओभलको ४९ प्रतिशत सेयर किनेको छ । लखनउले म्यानचेस्टरमा ७० प्रतिशत लगानी गरेको छ ।
आइपिएल टोली हैदराबादका मालिकले नर्थ सुपरचार्जसमा शतप्रतिशत लगानी गरेका छन् । दिल्ली क्यापिटल्सले वेस्ट ब्रोभको ४९ प्रतिशत सेयर किनेको छ । भारतीय उद्योगपति सञ्जय गोविलले वेल्समा ५० प्रतिशत हिस्सा साझेदारी गरेका छन् । गत वर्षसम्म ‘द हन्ड्रेड बल’को सबै व्यवस्थापन इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी)को हातमा थियो । अहिले व्यवस्थापनको जिम्मेवारी आठ फ्रेन्चाइज टोलीले लिएका छन् ।
च्याम्पियन्स ट्रफीको प्रभाव
गत साता सम्पन्न आइसिसी च्याम्पियन्स ट्रफीमा आयोजक पाकिस्तान समूह चरणबाटै बाहिरिएको थियो । समूह ‘ए’मा खराब प्रदर्शन गरेपछि पाकिस्तानले दोस्रो चरणमा स्थान बनाउन सकेन । ब्याटिङ र बलिङमा खासै गतिलो प्रदर्शन भएन । यसको प्रभाव ‘द हन्ड्रेड बल’मा परेको एजेन्सीले जनाए । ‘सम्भवतः च्याम्पियन्स ट्रफीको नतिजाले पनि बेलायतमा भएको अक्सनमा असर देखियो,’ बेलायती एजेन्सीहरूले लेखेका छन्, ‘गत वर्ष पाकिस्तानी खेलाडीहरू नसिम साह र साहिन साह अफ्रिदी पनि बिकेका थिएनन् ।’ पाकिस्तानी खेलाडीले पिसिबीबाट अनुमतिपत्र समयमै नपाउँदा पनि ‘द हन्ड्रेड बल’मा उनीहरूको इन्ट्री ढिला भएको एजेन्सीको भनाइ छ । पिसिबीले २० खेलाडीलाई मात्र एनओसी पत्र दिएको थियो ।
आगामी अगस्ट र सेप्टेम्बरमा पाकिस्तानी क्रिकेटर अन्तर्राष्ट्रिय खेलमा व्यस्त हुनेछन् । अगस्टमा वेस्ट इन्डिजसँग तीन एकदिवसीय र तीन टी–२० खेलमा पाकिस्तान सहभागी हुनेछ । सेप्टेम्बरमा पाकिस्तानले अफगानिस्तानसँग एकदिवसीय खेल खेल्नेछ । यसपछि टी–२० एसिया कप सुरु हुनेछ । यसै तीन महत्वपूर्ण प्रतियोगितालाई मध्यनजर गरी पिसिबीले प्रमुख खेलाडीलाई एनओसी पत्र दिएको छैन ।
अक्सन सबैका लागि खुला
इसिबीका कार्यकारी प्रमुख रिचार्ड गाउडले ‘द हन्ड्रेड बल’को अक्सनमा खेलाडी अनुबन्ध गर्ने सबै अधिकार सहभागी फ्रेन्चाइज टोलीसँग रहेको बताएका छन् । नियतवश खेलाडी भित्र्याउने वा नभित्र्याउने अक्सनमा नभएको उनले बताए । ‘अक्सनमा कुन खेलाडी किन्ने वा कसलाई छाड्ने सबै अधिकार फ्रेन्चाइज टोलीसँग रहनेछ, उनीहरूले आवश्यकताअनुसार खेलाडी भित्र्याएका छन्,’ रिचार्डले भने, ‘एकजना पनि पाकिस्तानी खेलाडी बिक्री नभएको सन्दर्भमा प्रतिक्रिया दिन मिल्दैन ।’ उनले आइपिएलको उदाहरण प्रस्तुत गरेका छन् ।
‘आइपिएलमा २००९ देखि कुनै पनि पाकिस्तानी खेलाडी खेलेका छैनन्, जब सहभागी फ्रेन्चाइज टोलीले पाकिस्तानका खेलाडी भित्र्याउन चाहँदैन भने यसमा प्रतिक्रिया दिन मिल्दैन,’ उनले भने । रिचार्डले अर्को सिजनमा पाकिस्तानी खेलाडी बिक्री हुन सक्ने बताए ।