वडास्तरीय भलिबलको उपाधि सभापोखरी ३ ले जित्यो

बिहिबार, २९ फागुन, २०८१
डिजिटल संस्करण

संखुवासभाको खाँदबारी नगरपालिका–११ स्थित बेतधारा टोल विकास संस्थाले फागुपूर्णिमाको अवसरमा आयोजना गरेको खुल्ला वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि सभापोखरी गाउँपालिका वडा नं ३ ले जितेको छ।

बिहीबार भएको फाइनल खेलमा भोजपुरको षडानन्द नगरपालिका–५ लाई सोझो सेटमा हराउँदै सभापोखरी गाउँपालिका–३ ले उपाधि हात पारेको हो। सभापोखरी ३ ले २५–१८, २७–२५ र २५–१८ को सेटमा षडानन्द ५ लाई हराएको थियो। षडानन्द–३ उपविजेतामा नै चित्त बुझाउन बाध्य भयो।

त्यसैगरी, तेस्रो स्थानका लागि पाँचखपन नगरपालिका–३ र सिलीचोङ गाउँपालिका–१ बीच प्रतिस्पर्धा भएको थियो। पाँचखपन–३ ले २५–८, २५–२३ र २५–२१ को सोझो सेटमा सिलीचोङ–१ लाई हराउँदै तेस्रो बन्यो। सिलीचोङ–१ ले सान्त्वनामै चित्त बुझाएको छ। प्रतियोगितामा संखुवासभा र भोजपुरका १२ वटा वडाले सहभागीता जनाएका थिए।

‘स्वास्थ्यका लागि खेलकुद ः राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित सोमबारदेखि शुरु भएको प्रतियोगिता आज विहीबार समापन भएको छ। प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ, उपविजेताले २० हजार, तेस्रोले १० हजार र सान्त्वनाले ५ हजार रुपैयाँ हात पारेको छ।

प्रतियोगिता फागु पूर्णिमाको अवसरमा बर्सेनि गर्ने गरेको खाँदबारी–११ का वडा सदस्य पृथीमान राईले बताए। भलिबल समापनपछि खुल्ला नृत्य प्रतियोगितासहित सांगीतिक कार्यक्रम गरिएको थियो।

सुझावित समाचार