इंग्लिस प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ । प्रिक्वार्टरफाइनलको बुधबार भएको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग टाइब्रेकरमा स्तब्ध हुँदै लिभरपुल नकआउट चरणबाट बाहिरिएको हो । पहिलो लेगमा पिएसजीको मैदानमा लिभरपुल १–० ले विजयी भएको थियो ।
दोस्रो लेगमा लिभरपुल एन्डफिल्डमा पिएसजीसँग १–० ले पराजित भएको थियो । दुवै लेग बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पिएसजीका इटालियन गोलरक्षक जियानलुजी डोनारुमा नायक भए । उनले दुई पेनाल्टी प्रहार बचाएका थिए । पिएसजीले पेनाल्टीमा चार गोल गरेको थियो । लिभरपुलका मोहमद सलाहाले मात्र गोल गरे । डार्बिन नुनेज र कर्टिस जोन्सको प्रहार पिएसजीका गोलरक्षक डोनारुले छेके । खेलको १२औँ मिनेटमा ओस्मान डेम्बेलेले पिएसजीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि थप गोल नहुँदा समग्रमा १–१ को बराबरीले खेल अतिरिक्त समयमा धकेलिएको थियो । लिभरपुललाई टाइब्रकेरमा ४–१ ले हराएको पिएसजी क्वार्टरफाइनलमा पुगेको छ ।
इन्टर मिलानले फेयनोर्डलाई हरायो
च्याम्पियन्स लिगकै अर्को खेलमा इटालियन क्लबले इन्टर मिलानले फेयनोर्डलाई २–१ ले पराजित गर्दै अन्तिम आठको स्थान पक्का गरेको छ । इन्टर मिलानले समग्रमा ४–१ को अग्रता बनाउँदै अन्तिम आठको स्थान पक्का गरेको हो । अब इन्टर मिलानले क्वार्टरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखको सामना गर्नेछ ।
स्पेनिस क्लब बार्सिलोनाले समग्रमा बेन्फिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनल स्थान सुरक्षित गर्यो । बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हाले गोल गरेका थिए । बार्यनले अन्तिम आठमा स्थान सुरक्षित गर्ने क्रममा बायर लेभरकुसेनलाई २–० ले हरायो । बायर्न समग्रमा ५–० को अग्रताका साथ अन्तिम आठमा पुगेको हो । यस सिजनको च्याम्पियन्स लिगमा ह्यारी केन दसौँ गोल गर्न सफल भए । बायर्नका खेलाडी केन च्याम्पियन्स लिगको एकै सिजनमा १० गोल गर्ने पहिलो इंग्लिस खेलाडी बने ।