५२ क्रिकेट खेलाडीसँग क्यानको पारिश्रमिकसम्बन्धी सम्झौता

बिहिबार, २९ फागुन, २०८१
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार नेपाली राष्ट्रिय पुरुष तथा महिला खेलाडीको नयाँ ग्रेड सार्वजनिक गरेको छ । क्यानले दुवैतर्फका खेलाडीको केन्द्रीय सम्झौता गर्दा धेरै परिवर्तन गरेको छैन । पुरुष र महिलामा गरी समग्रमा ५२ खेलाडीलाई समेटिएको छ । सम्झौतामा ३३ पुरुष र महिलातर्फ १९ खेलाडी छन् । नयाँ ग्रेड्रिङमा खेलाडीको पारिश्रमिक बढाइएको छैन । 

क्यानले ग्रेडिङ प्रणाली २०२५ कोे सुरुको ६ महिनाका लागि लागू हुने जनाएको छ । जनवरीदेखि जुनसम्म सम्झौता अवधि रहेको छ । त्यसपछि जुलाईदेखि डिसेम्बरसम्मको नयाँ ग्रेड सार्वजनिक हुनेछ । घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा पुनः मूल्यांकन गरिनेछ । प्रदर्शनका आधारमा खेलाडीको ग्रेडिङसमेत परिवर्तन हुन सक्छ । 

पुरुषतर्फको ग्रेड ‘ए’मा रहेका खेलाडीले मासिक एक लाख र महिलातर्फ ग्रेड ‘ए’मा रहेकाले ५० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । यसपटकको पुरुषतर्फको ‘ए’ ग्रेडबाट कुशल भुर्तेल र करण केसी बाहिरिएका छन् । दुवै खेलाडी ‘बी’मा घटुवा भएका छन् । अनिल शाह ‘बी’ ग्रेडमा उक्लेका छन् । पछिल्लो सम्झौतामा उनी ‘सी’ ग्रेडमा थिए । अन्तर्राष्ट्रिय खेलमा गतिलो प्रदर्शन गर्न नसकेका फास्ट बलर अविनाश बोहरा ग्रेड ‘बी’बाट ‘डी’मा झरेका छन् । 

विनोद र अर्जुन अटेनन्
सिजनमा अन्तर्राष्ट्रिय खेलमा अलराउन्ड प्रदर्शन गर्न चुकेका कुशल मल्ल पनि घटुवा भएका छन् । उनी यसपटक ‘सी’ ग्रेडमा पुगेका छन् । पछिल्लो सम्झौतामा उनी ‘बी’मा थिए । गत वर्ष ‘सी’ ग्रेडमा रहेका विनोद भण्डारी र अर्जुन साउद भने यसपटक बाहिरिएका छन् । प्रतिश जिसी ‘सी’बाट ‘डी’मा झरेका छन् । सम्झौताबाट बाहिरिने खेलाडीमा पवन सर्राफ पनि रहे । उनी गत वर्षको सम्झौताको ‘डी’ ग्रेडमा थिए । क्यानले युवा खेलाडी लोकेश बम र मयन यादवलाई पहिलोपटक ग्रेड्रिङ दिएको छ ।  यसैगरी इमर्जिङ क्याटेगोरीमा अर्जुन कुमाल, शुभ कंसाकार र सन्तोष यादवले स्थान बनाएका छन् । अघिल्लो सम्झौताको इमर्जिङमा रहेका सुदूरपश्चिमका विपिन खत्री यसपटक बाहिरिए ।

सुझावित समाचार