मञ्जुश्री ट्रेल रेस (एमटिआर)को पाँचौँ संस्करण चैत १ देखि ३ गतेसम्म हुने भएको छ। आयोजकका अनुसार यसपालि ३७१ नेपाली र १३१ विदेशी गरी कुल ५०२ धावकको सहभागिता रहनेछ। जसमध्ये पुरुष ४०८ र महिला ९४ जना रहेका छन्।
रेसमा एक सय माइल, एक सय किलाेमिटर, ५० किलाेमिटर, ३० किलाेमिटर र १० किलाेमिटर इभेन्टमा दौड हुनेछन्। सय माइल स्वयम्भूस्थित सिंगल ट्रीबाट सुरु भई सोही स्थानमा आएर सकिनेछ। सय किलाेमिटर रेस नगरकोटको सेरेन रिसोर्टबाट, ५० किलाेमिटर रेस गोदावरीबाट तथा ३० किलाेमिटर रेस सोलिड रक लजबाट सुरु हुनेछ। सबै रेस सिंगल ट्रीस्थित पवना हाउसमा पुगेर समाप्त हुनेछन्।
मञ्जुश्री ट्रेल रेस एसिया ट्रेल मास्टर्सको क्वालिफायर पनि हो। मञ्जुश्रीमा विजेता हुने खेलाडीहरू भियतनाममा हुने एसिया ट्रेल मास्टर्समा चयन हुनेछन्। एसिया ट्रेल मास्टर्समा नेपाली खेलाडी उपाधि दाबेदारको रूपमा रहने गर्छन्। सन् २०२३ मा रसिला तामाङ र २०२४ मा प्रिया राईले एसिया ट्रेल मास्टर्सको उपाधि जितेका थिए।
मञ्जुश्री ट्रेल रेसअन्तर्गत सय माइलमा पहिलोदेखि तेस्रो हुनेले क्रमशः ७५ हजार, ४० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सय किलाेमिटरमा पहिलोदेखि तेस्रो हुनेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ तथा ५० किलाेमिटरमा पहिलोदेखि तेस्रो हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। ३० किलाेमिटरमा पहिलोदेखि तेस्रो हुने क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँको हकदार हुनेछन्। १० किलाेमिटरमा भने नगद पुरस्कार राखिएको छैन।
मञ्जुश्री ट्रेल रेसका कार्यवाहक अध्यक्ष नारायण आचार्यले किंवदन्तीअनुसार मञ्जुश्री चीनबाट नेपालसम्म हिँडेर आएको, त्यसवेला काठमाडौं उपत्यका पानीले भरिएको र मञ्जुश्रीले चोभारको डाँडा काटेर काठमाडौं बस्न लायक बनाएको कथा छ। त्यसैबाट प्रभावित यस रेसको नाम मञ्जुश्री ट्रेल रेस राखिएको उनको भनाइ छ।