हिमाली जिल्ला मनाङमा पहिलोपटक सार्वजनिक यातायातका रूपमा बस सञ्चालनमा ल्याइने भएको छ । स्थानीय तथा पर्यटकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले सार्वजनिक बस सञ्चालनमा ल्याउन लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा बसेको समन्वयात्मक बैठकले आज सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकमा सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा पूर्वाधार विकास कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।
बैठकले सार्वजनिक बससेवा व्यवस्थित, सुलभ र सरल बनाउँदै स्थानीय बासिन्दा, पर्यटक तथा सरकारी कर्मचारीलाई सहुलियतपूर्ण तथा सहज रूपमा यात्रा सुनिश्चित गर्ने निष्कर्षसहित सो निर्णय गरिएको प्रजिअ आचार्यले बताए।
‘भौगोलिक रूपमा विकट क्षेत्र मनाङमा पहिलोपटक सार्वजनिक सवारीसाधन सञ्चालनमा ल्याउन लागिएको छ,’ उनले भने, ‘सार्वजनिक सवारीसाधन सञ्चालनले स्थानीयवासीका साथै पर्यटक र कर्मचारीलाई सहज हुनेछ ।’
मनाङमा हालसम्म यात्रुका लागि मुख्य रूपमा पाँचसिटे क्षमताका पिकअप जिप मात्र सञ्चालन हुँदै आएका छन् । जसका कारण यात्रुले कठिन यात्रा गर्नुपर्ने, महँगो भाडा तिर्नुपर्ने तथा सुरक्षित यात्रा गर्न नसक्ने समस्या छ ।
सार्वजनिक बस सञ्चालन भएसँगै यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार आउने, यात्रुहरूले उचित भाडामा सहज यात्रा गर्न सक्ने र मालसामान ढुवानीसमेतमा सहजता कायम हुने विश्वास गरिएको छ ।
प्रजिअ आचार्यले सार्वजनिक सवारीसाधन सञ्चालनमा आउँदा यसले यातायात व्यवस्थापनलाई थप सुधार गर्नुका साथै व्यवस्थित बनाउने बताए। बेँसीसहर–चामे सडकखण्डमा यात्रुबाहक बस सञ्चालनका लागि विगतमा विपत् व्यवस्थापन समितिले निर्णय गरिसकेको भए पनि कार्यान्वयनमा ल्याउन सकिएको थिएन ।
समन्वय बैठकले उक्त निर्णयलाई पुनः अनुमोदन गर्दै तत्काल बससेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको उनको भनाइ छ ।
बस सञ्चालनका लागि आवश्यक रुट इजाजत पत्र लिनुपर्ने भएकाले लमजुङ कालिका प्रालिलगायतका यातायात व्यवसायीलाई सम्बन्धित निकायमा निवेदन दिन अनुरोध गरिने जानकारी दिए।
बेँसीसहर–चामे सडकखण्ड जोखिमयुक्त भएकाले बससेवा सुरक्षित र व्यवस्थित बनाउन सडकका समस्याग्रस्त तथा जोखिमयुक्त स्थानको पहिचान गरी मर्मत एवं निर्माणलाई तीव्रता दिइने प्रजिअ आचार्यले बताए। उक्त कार्यमा यातायात व्यवसायी तथा पूर्वाधार विकास कार्यालयसँग समन्वय गरी कामलाई तीव्रता दिइने जनाइएको छ ।