जिल्लामा उत्पादित दुधको गुणस्तर, उत्पादन र बजारीकरणका लागि नयाँ परियोजना सुरु गरिएको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले जिल्लामा उत्पादित दुधको गुणस्तर र उत्पादन बढाउन ‘मिल्की वे’ परियोजना सञ्चालनका लागि काम अघि बढाएको हो ।
जिल्लामा उत्पादित दुधको बजारीकरण, गुणस्तर र उत्पादन वृद्धि गर्न किसानलाई सहजीकरण गर्ने उद्देश्यले सो परियोजना ल्याइएको हो । संघका अध्यक्ष किशोर बगालेले यस परियोजनामार्फत दुध उत्पादनको लागत घटाउने, पशु चौपायाको स्वास्थ्यमा पर्ने समस्या समाधानका लागि सहयोग पुर्याउने, यन्त्र–उपकरणको प्रयोग बढाउने, बजार व्यवस्थापनमा सहयोग गर्ने, स्वच्छ तथा सफा दूध उत्पादन र संकलनमा सहयोग गर्ने रहेको बताए ।
उनका अनुसार दुग्ध क्षेत्रको प्रथामिकता पहिचानमा सहयोग गर्ने र नश्ल सुधारमा समेत काम गरिनेछ । परियोजना सञ्चालनमा आएसँगै जिल्लामा रहेका ११५ दुग्ध उत्पादक सहकारी संस्था र त्यसमा आबद्ध किसान प्रत्यक्ष रूपमा लाभान्वित बन्नेछन् ।
दुध उत्पादन, बजारीकरण र मूल्य नपाउने समस्याबाट कृषकलाई बचाउनका लागि यो परियोजना फलदायी बन्ने आज यहाँ आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन् । संघले सरोकारवालासँग लक्ष्यप्राप्तिका लागि के–कस्ता कार्यक्रम उपयोगी हुन्छन् भन्ने विषयमा आज अन्तर्क्रिया गरेको थियो ।
अहिले दुधको भुक्तानी नपाएका कारण दुध उत्पादन बढाउन कठिन मानेका किसान यो परियोजना कार्यान्वयनसँगै लागत घट्ने हुँदा दुध उत्पादन बढाउन सहयोग पुग्ने सो अवसरमा बताइएको थियो ।
कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले दुधको लागत मूल्य घटाउन सके देशलाई दुधमा आत्मनिर्भर बनाउन सकिने बताए । स्थानीय बजारमा दुधको मागमा एकरूपता नहुँदासमेत किसान चिन्तित बन्ने गरेको भन्दै उनले दुधको गुणस्तर कायम गर्न सके माग बढ्ने बताए ।
परियोजनामा सहकार्य गरेको हेफर इन्टरनेसनलका कार्यक्रम निर्देशक डा. केशव शाहले नेपालको दुग्ध उत्पादनका क्षेत्रमा रुपान्तरण गर्नका लागि आफूहरूले काम अघि बढाएको बताए । दुध उत्पादनबाट कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा किसानलाई सहजीकरण गर्दै नेपाललाई दुधमा आत्मनिर्भर बनाउनका लागि आफूहरूले विगत लामो समयदेखि काम गर्दै आइरहेको उनको भनाइ थियो ।
परियोजनाका हेर्दै आएका भोला श्रेष्ठले नाफा नहुँदा, प्रतिस्पर्धी छैनन् भन्ने हुँदा किसान सन्तुष्ट बन्न नसकेको उनले बताए । दुधमा गुणस्तर कायम गर्नका लागि वंशाणुगत गुणमा ख्याल गर्न आवश्यक रहेको उनको भनाइ थियो । जिल्लामा हाल दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पादन हुँदै आएको छ । त्यसमध्ये एक लाख ५० हजार लिटर दुध जिल्लाबाहिर बिक्री हुने गरेको छ ।
संघले यस वर्ष अबका दुई महिना विभिन्न कार्यक्रम र सहयोगमार्फत किसान तथा सहकारीलाई सहयोग गर्दै छ । वार्षिक रूपमा सम्झौता गरेर स्थानीय तहसहितको सहकार्यमा हेफरसँग सहकार्य गरेर काम गर्नका लागि संघसित सम्झौता भइसकेको छ । रासस