ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमीलक्षित ‘ग्लोबल म उद्यमी’ कर्जा सार्वजनिक गरेको छ । महिला उद्यमीलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानीय समुदायमा आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने गरी बैंकले उक्त कर्जा ल्याएको जनाएको छ । यस योजनाले महिलालाई उद्यमी भई व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने बताइएको छ ।
महिलाले नेतृत्व गरेको कृषि, उत्पादन, प्रशोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई बैंकले विशेष प्रथमिकता दिई कर्जा प्रदान गर्नेछ । योजनाअन्तर्गत आकर्षक सुविधासहित न्यूनतम ब्याजदरमा महिला उद्यमीलाई १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।
कर्जा प्राप्त गर्न महिलाको कम्तीमा ५० प्रतिशत स्वामित्व भएको र उनीहरूकै नेतृत्वमा व्यवसाय सञ्चालन भएको हुनुपर्नेछ । ‘ग्लोबल म उद्यमी’ कर्जा लिँदा बैंकले उद्यमी डिजिटल उपहार प्रदानसमेत गर्नेछ ।