अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबबिचको असमझदारीका कारण सहिद स्मारक ‘बी’ डिभिजन लिग तीन वर्षसम्म भएन । तर, गत महिना दुवै पक्षबिच समझदारी भएपछि आइतबारदेखि दशरथ रंगशालामा लिग सुरु हुँदै छ । अन्तिमपटक लिग ०७८ सालमा भएको थियो । एन्फाले १३ माघ देखि लिग सुरु गर्ने भनेको थियो । तर, ‘बी’ लिगमा आबद्ध क्लबहरूले तयारी खर्च तथा पुरानो रकम नदिँदासम्म प्रतियोगितामा सहभागी नहुने अडान राखेका थिए ।
एन्फाले गत माघमा सूचना जारी गर्दै क्लबहरूलाई लिगमा सहभागी हुन आह्वान गरेको थियो । त्यसपछि असन्तुष्ट क्लबहरूले ‘बी’ डिभिजन लिगमा भाग लिने सहमति जनाए । एन्फाले लिग आयोजना गर्न उचारचढावको सामना गर्नु परेको थियो । एन्फाले १४ क्लबले भाग लिने निश्चित गरेपछि मात्र तयारी थालेको हो । एन्फाले लिग आयौजना गर्न सबै तयारी पूरा भएको जनाएको छ ।
पहिलो खेलमा च्यासल युथले वीरगन्ज युनाइटेडको सामना गर्नेछ । लिग एकल राउन्ड रोबिनका आधारमा हुनेछ । जसमा ९१ वटा खेल हुनेछन् । प्रतियोगिता दशरथ रंगशालामा र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् । लिग विजेताले १५ लाख र उपविजेताले १० रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् । एन्फाले उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समान ५० हजार रुपैयाँ दिनेछ ।
दुई टोली ‘ए’ डिभिजनमा उक्लने
लिगको नियमअनुसार शीर्ष स्थानमा रहने दुई टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन् । यसैगरी, पुछारका दुई टोली ‘सी’ डिभिजनमा झर्नेछन् । ‘बी’ डिभिजनमा रानीपोखरी कर्नर टिम (आरसिटी), श्री भगवती, टुसाल यथ, ब्रिगेड ब्वाइज, ब्वाइज युनियन, मध्यपुर युथ, च्यासल युथ, श्री कुमारी, बाँसबारी, नयाँबस्ती युथ, सरस्वती युथ, वीरगन्ज युनाइटेड, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेडले भाग लिनेछन् । यसमध्ये आरसिटी र ब्वाइज युनियनले कुनै समय ‘ए’ डिभिजनको उपाधि जितेका थिए । आरसिटीले ६ पटक ‘ए’ डिभिजन लिग ट्रफी उचालेको थियो । एन्फाले दशरथ रंगशालामा सामान्य पारापिटतर्फ सय र भिआइपीका तीन सय रुपैयाँ निर्धारण गरेको छ । सातदोबाटोको सामान्य पारापिटतर्फ सय रुपैयाँ राखिएको छ । प्लेयर अफ दी म्याचले ७५ सय र प्रत्येक खेलको विजेताले २५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको कुल बजेट तीन करोड ९३ लाख एक हजार आठ सय १३ रुपैयाँ छ ।
मोफसलमा झापाको तयारी बलियो
‘बी’ डिभिजन लिगमा सहभागी हुनुअगाडि मोफसलका विभिन्न गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ ले राम्रो तयारी गरेको छ । गत साता भद्रपुर झापा गोल्डकपमा झापा ११ फाइनलमा पुगेको थियो । तर, आयोजक भद्रपुरसँग झापा फाइनलमा चुक्यो । यसक्रममा झापा ११ ले गोल्डकपमा सहभागी ‘ए’ डिभिजन क्लबहरूलाई समेत हराएको थियो । मोफसलबाट सहभागी भएकामध्ये वीरगन्ज युनाइटेड पनि हो । वीरगन्जले पनि लिगको तयारीस्वरूपमा गोल्डकपमा भाग लिइरहेको छ ।
चर्च ब्वाइजको इतिहास
तीन वर्षअघि भएको ‘बी’ डिभिजन लिगमा अस्वाभाविक रूपले चर्च ब्वाइज च्याम्पियन बनेको थियो । सो लिगमा खुमलटार क्लब पनि शीर्ष डिभिजनमा बढुवा भएको थियो । चर्च ब्वाइजले १३ खेलमा सर्वाधिक २९ अंक जोड्दै च्याम्पियनसिप ट्रफी उचालेको थियो । सो लिगमा सामाजिक युथ र झम्सिखेल युथ ‘सी’ डिभिजन घटुवा भएका थिए । चर्च ब्वाइजले माथिल्लो डिभिजनमा उक्लेको वर्षमै सनसनी मचाउँदै ‘ए’ डिभिजन लिगको उपाधिसमेत जितेको थियो । नेपालको फुटबल इतिहासमा यस्तो रेकर्ड बनाउने मनाङ मर्स्याङ्दीपछि चर्च ब्वाइज हो ।