सरकार लगानीमैत्री वातावरण बनाउन नीतिगत सुधारतर्फ लागेको छ : मन्त्री भण्डारी

शनिबार, २४ फागुन, २०८१
डिजिटल संस्करण

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीमैत्री वातावरण निर्माणका लागि सरकार लागि परेको बताएका छन् । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको २४औं वार्षिक साधारणसभा तथा ११औं महाधिबेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै मन्त्री भण्डारीले यसका लागि सरकारले उद्योगी व्यवसायीको साथ खोजेको बताएका छन् ।

उनले लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत सुधारतर्फ सरकार लागेको पनि दावी गरेका छन् । निराशा चिरेर आशाको दिगो बालेर अगाडि बढ्ने वातावरण निर्माणतर्फ सरकार केन्द्रित रहेको धारणा उनले राखेका छन् । 

उनले औद्योगिक क्षेत्रका समस्याहरू व्यवस्थित ढंगले प्रस्तुत गर्न आग्रह गर्दै मन्त्रालयले आवश्यक निर्णय गरेर हल खोज्ने आश्वसन समेत दिए । अस्थिरता र निराशा चिर्न मुलुकका प्रमुख पार्टीबिचको सहमतिमा सरकार बनेको चर्चा गर्दै उनले राजनीतिक अस्थितरताका कारण उद्योग, व्यवसायिक क्षेत्रका समस्या समाधान हुन नसकेको अवस्थामा समस्या समाधान गर्न प्रमुख प्रतिस्पर्धी दल मिलेर सरकार बनेको बताए । 

सरकारले उद्योगी, व्यवसायी र निजी क्षेत्रले सुन्ने, देख्ने र अनुभुति गर्ने र निजी क्षेत्रका निराशा चिर्ने गरि आगामी नीति कार्यक्रम ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे । उनले भने, ‘सरकारले नीतिगत सुधारका प्रयासबाट उद्योगी व्यवसायीहरू उत्साहित हुने अवस्था निर्माण गर्दै छ ।’

कार्यक्रममा प्रतिनिधिसभा सदस्य वाशुदेव घिमिरेले सरकारले पछिल्लोपटक ल्याएका अध्यादेशले निजी क्षेत्रलाई नीतिगत रुपमा सहज व्यवस्था गरिएको बताए । उद्योगीहरूको मनोबल बढ्ने किसिमका काम हुन जरुरी भएको भन्दै सरकारले उद्योगीहरूको पक्षमा कानुनहरू निर्माणमा ध्यान दिएको जिकिर गरे ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रदेशका पूर्वमन्त्री विष्णु पन्थीले उद्योगी व्यवसायीले निरास हुने स्थिति सिर्जना गर्न नहुने बताए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले औद्योगिक क्षेत्रका समस्याहरू सञ्चालक समितिबाट नै समाधान गर्न सकिने धारणा राखे । महाप्रबन्धक पदम ओलीले उद्योगीहरूलाई सकरात्मक बन्न आग्रह गर्दै समस्या समाधान गर्दै उत्पादन बढाउन, प्रदुषण कम गर्न, कार्यक्षमता बढाउनतर्फ ध्यान दिन आवश्यक रहेको धारणा राखे । 

कार्यक्रममा नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठक, उद्योग परि संघका एजाज आलम, नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका पूर्व अध्यक्षहरू माधव अधिकारी, शैलेन्द्रलाल प्रधानलगायतले औद्योगिक क्षेत्रका उद्योगीहरूले भोग्नुपरेका समस्या राख्दै समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने धारणा राखेका थिए ।
 

सुझावित समाचार