पनौतीका तीन खानी उद्योग सञ्चालनमा रोक

अन्य क्रसरलाई पनि सात दिनभित्र श्रोत सुनिश्चितता, क्रसरसँग सम्बन्धीत दर्ता, नवीकरण, कर चुक्ता तथा सञ्चालन अनुमति पेस गर्न निर्देशन

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण

काभ्रेको पनौती नगरपालिकाले नगरभित्रका तीनवटा खानी उद्योग सञ्चालनमा रोक लगाएको छ । खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन अवधि समाप्त भएका पनौती– २ मा सञ्चालित डायमन्ड स्टोन माइनिङ प्रालि तथा वडा नम्बर १२ मा रहेका  भालेश्वर रोडाढुंगा उद्योग र दीपलक्ष्मी एग्रिगेट एन्ड माइनिङ सञ्चालनमा रोक लगाइएको हो ।

उत्खनन अवधि समाप्त भइसकेपछि पटकपटक ताकेता गर्दासमेत बन्द नभएपछि निर्णय नै बिहीबारबाट रोक लगाइएको मेयर रामशरण भण्डारीले बताए । सरोकारवालासहितको बैठकले नगर क्षेत्रभित्र सञ्चालित खानी तथा क्रसर उद्योगलाई सात दिनभित्र कागजात पेस गर्न पनि भनेको छ ।

बिहीबार जारी सूचनामा पनौती क्षेत्रभित्र सञ्चालनमा रहेका क्रसर उद्योगले कच्चा पदार्थका स्राेत सुनिश्चितता, क्रसरसँग सम्बन्धित दर्ता, नवीकरण, कर चुक्ता तथा सञ्चालन अनुमतिसहितका कागजात सात दिनभित्र पेस गर्न भनिएको छ । 

अवधि समाप्त भएका उद्योगलाई सञ्चालन अनुमति नलिएसम्म रोक लगाइने मेयर भण्डारीले बताए । ‘क्रसर उद्योगका कागजात माग गरेका छौँ । अवधि समाप्त भएकाको हकमा रोक लगाउनेछौँ,’ उनले भने, ‘सञ्चालन अवधि भए पनि स्रोत सुनिश्चितता नभएमा र डस्ट व्यवस्थापन गर्ने ठाउँ सुनिश्चितता नगरेको पाइए सञ्चालन गर्न दिनेछैनौँ ।’ 

सुझावित समाचार