विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सोही क्रममा विराटनगरस्थित प्राइम बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि दुई लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सडक सौन्दर्यकरणका लागि बैंकले उक्त रकम हस्तान्तरण गरेको हो ।
महानगरका मेयर नागेश कोइरालालाई बैंकका प्रदेश प्रमुख रवीन्द्र अर्याल, क्लस्टर ए कोशी प्रदेश प्रमुख ऋषिराम भट्टराई, ट्राफिक चोक शाखा प्रमुख सिद्धिराज थापा र रिलेसनसिप म्यानेजर (क्लस्टर ए) रूपकराज सुवेदीले दुई लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरेका हुन् । विराटनगरमा चार शाखासहित कोशी प्रदेशमा बैंकका ४७ वटा शाखा रहेका छन् ।
महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना अगाडि बढाएको छ । सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । हालसम्म २९ लाख ५० हजार रुपैयाँ प्राप्त भइसकेको महानगरका तर्फबाट सौन्दर्यकरण परियोजनाका लागि सहजीकरण गरिरहेका पुनमकुमार दाहालले जानकारी दिए । कार्यक्रममा मेयर कोइरालाले सबैको साथ र सहयोगले मात्रै विराटनगरको समग्र विकास हुने बताए । उनले सौन्दर्यकरण अभियानलाई सहयोग गरेकोमा बैंक तथा वित्तीय संस्थाहरूलाई समेत धन्यवाद दिए ।