बोसे जातको अदुवा उत्पादनको जिल्लाका रूपमा चिनिएको सल्यानमा पछिल्लो समय अदुवाको उत्पादनमा बर्सेनि गिरावट आइरहेको छ । बजारको सुनिश्चितता नहुनु, रोग–किरा तथा जलवायु परिवर्तनको असरका कारण जिल्लामा अदुवा उत्पादन बर्सेनि घट्दै जान थालेको हो ।
कृषि विकास कार्यालय सल्यानको तथ्यांकअनुसार आर्थिक वर्ष ०७९/८० मा एक हजार ६ सय ७० हेक्टरमा अदुवा खेती हुँदा २६ हजार दुई सय ७३ मेट्रिकटन उत्पादन भएको थियो । आव ०८०/८१ मा उत्पादनको क्षेत्रफल घटेर एक हजार चार सय २० हेक्टरमा मात्र खेती भएको छ । जसमा २२ हजार १० मेट्रिकटन अदुवा उत्पादन भएको छ । चालू आव ०८१/८२ मा एक हजार चार सय २० हेक्टरमा खेती हुँदा २० हजार नौ सय नौ मेट्रिकटन अदुवा उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरी नारायण घर्तीले जानकारी दिए ।
अदुवा उत्पादन हुने स्थानमा किसानले तरकारी खेतीलाई जोड दिनु, रोग–किराको प्रकोप तथा सुक्खाका कारण यो वर्ष पनि अदुवाको उत्पादनमा गिरावट आएको घर्तीको भनाइ छ । ‘यो वर्ष अदुवाका लागि आवश्यक पर्ने समयमा पानी पर्न सकेन,’ उनले भने, ‘जसका कारण जमिन धेरै सुक्खा हुन पुग्यो, जसले अदुवामा रोग–किराको आक्रमण पनि उत्तिकै भयो ।’
उत्पादन भएको अदुवामध्ये आठ हजार नौ मेट्रिकटन अदुवा मात्र जिल्लाबाहिर निकासी हुने गर्छ । सल्यानको अदुवा देशका विभिन्न जिल्लासहित भारत निकासी हुने गर्छ ।