बुद्ध जन्मस्थल लुम्बिनीमा यही शनिबार राति चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच सयजनाको कुलपुत्र प्रवज्या, चौथौ त्रिपिटकवाचन चलिरहेको वेला शनिबार राति लुम्बिनीस्थित केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी उद्यानमा चार हजार दीप प्रज्वलन गरिने भएको हो।
धम्मकाय फाउन्डेसनले भिक्षु–भिक्षुणी, लामा गुरु, आनी, उपासक–उपासिका र प्रवजित भएका ५ सय कुलपुत्रहरूको सहभागितामा विश्व शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखेको हो। धम्मकायका अध्यक्ष भिन्ते फ्रा थाभोर्न थाभ्राले बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गरिने बताए। उनले गत वर्ष पनि दीप प्रज्वलन गरिएको बताउँदै आगामी वर्ष यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउने योजना रहेको सुनाए।
दीप प्रज्वलनमा भिक्षु–भिक्षुणी, लामा, आनी, उपासक–उपासिकासहित विभिन्न देशबाट आएका पाहुनाहरूको सहभागिता रहने उनले जानकारी दिए। दीप प्रज्वलनमा सरकारका अधिकारीहरूको समेत उपस्थिति रहनेछ। बौद्धमार्गीहरूमा दीप प्रज्वलनको निकै महत्व रहेकाले दीप प्रज्वलनले सकरात्मक सन्देश जाने लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्याम रोक्काले बताए। बुद्ध शिक्षालाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने उनको भनाइ छ।
धम्मकायले दीप प्रज्वलनसँगै धम्मयात्राका लागिसमेत विशेष तयारी गरेको छ। अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघ र लुम्बिनी विकास कोषको आयोजना तथा बौद्ध समाज नेपालको सह–आयोजनामा आगामी चैत २ गते शनिबार भैरहवामा बुद्धको अस्तीधातुसहितको धम्मयात्रा हुने भएको हो। धम्मयात्रामा लुम्बिनीमा भइरहेको ५ सयजना प्रवजित अल्पकालीन भिक्षुहरू, भन्तेहरू सहभागी हुनेछन्। भैरहवाको रंगशालादेखि बुद्धचोकको लुम्बिनी गेटसम्म धम्मयात्रा हुनेछ।
यस्तै, सोही दिन बिहान देवदह, बुटवल, रामग्राममा पनि धम्मयात्रा हुनेछ। चैत ३ गते प्रमाणपत्र वितरण, चैत ४ र ५ गते विभिन्न नगरमा भिक्षाटन गराइने आयोजकले जनाएका छन्। लुम्बिनीमा अहिले ५ सयजनाको प्रवज्या र अन्तर्राष्ट्रिय त्रिपिटकवाचन भइरहेको छ। मायादेवी मन्दिरपरिसरमा २० गते ५ सयजनालाई चिवर प्रदान गरी प्रवजित गराइएको हो भने बुधबार त्रिपिटक पाठ समारोहको शुभारम्भ गरिएको हो।