प्रश्न दबाउन खोजे संख्याको शक्तिले थेग्दैन : सोबिता गौतम

पत्रकारको प्रेस पास निलम्बन फुकुवा गर्न माग

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

रास्वपा सांसद सोबिता गौतमले जनताका प्रश्न दबाउन नखोज्न सरकारको ध्यानाकर्षण गराएकी छिन्। प्रधानमन्त्रीलाई प्रश्न सोधेकै कारण दुई पत्रकारको प्रेस पास निलम्बन गरिएपछि सामाजिक सञ्जालमार्फत आपत्ति जनाउँदै गौतमले जनताको प्रश्नलाई संख्याको शक्तिले रोक्न नसक्ने र संख्याको शक्ति कुनै वेला पनि भत्किन सक्ने चेतावनी दिएकी छिन्। गौतमले पत्रकारको प्रेस पास निलम्बन फुकुवा गर्न पनि माग गरेकी छिन्। 

यस्तो छ गौतमको धारणा :
प्रश्न सोध्न पाइँदैन ? 
एक समय थियो, जब मिडियामा देखिन नेताहरू आफैँ माइक खोज्थे। युट्युब च्यानलहरू मनोरञ्जनमै सीमित थिए। तर, समय बद्लियो, अब युवाहरू राजनीति चासो राख्न थाले, युट्युब मिडिया संसद्सम्म आइपुगे। जनता आफैँ प्रश्न गर्दै छन्, सत्तालाई बोल्न बाध्य पार्दै छन्। तर, अहिले संसद् भवनभित्र सांसदहरूले प्रश्न सोध्न संघर्ष गर्नुपर्छ, बाहिर पत्रकारहरू प्रश्न सोधेकै कारण निलम्बनमा पर्छन्। 

संसद् जनताको आवाज उठ्ने थलो हो, सत्ता चलाउनेको अहंकारको महल होइन। प्रश्नहरू टर्रा लाग्नु स्वाभाविक हो, तर यदि देशको अवस्था मिठो हुन्थ्यो भने, प्रश्नहरू पनि मिठा आउँथे। देशको गति जता, प्रश्नहरू त्यतै जान्छन् । प्रश्नलाई दबाउनुको सट्टा सबैले समेट्ने गरी काम गर्नुस्, खुसीले जोडेर लैजानुस्। संख्याको शक्ति त कुनै वेला भत्किन सक्छ। प्रकाश ओली र किशोरकुमार श्रेष्ठको निलम्बन फुकुवा गर्नुस्।
 

सुझावित समाचार