सवारी दुर्घटना गराई भागेका व्यक्ति नौ दिनपछि पक्राउ

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

सवारी दुर्घटना गराएर भागेका एक व्यक्तिलाई कास्की प्रहरीले नौ दिनपछि पक्राउ गरेको छ। 

१२ फागुनमा पोखरा–२९, भण्डारढिकस्थित आदर्शचोकको भित्री सडक खण्डमा पैदलयात्रीलाई ठक्कर दिएर भागेका मोटरसाइकलचालकलाई प्रहरीले नौ दिनपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। पक्राउ पर्नेमा पोखरा–२० स्थायी घर भई हाल पोखरा–२७, ज्यामिरेकुना बस्ने २० वर्षका अश्विन अधिकारी रहेका शर्माले जानकारी दिए। प्रहरीले अधिकारीलाई ग१९प ५९९२ नम्बरको क्रसफायर २०० मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

शर्माका अनुसार बाग्लुङ, जैमनी नगरपालिका–१० घर भई पोखरा–२९, भण्डारढिक बस्ने ७१ वर्षका ससबहादुर थापालाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएपछि उनी घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्युसमेत भएको थियो।

घटनापछि अनुसन्धानका क्रममा प्रहरीले अधिकारीलाई मोटरसाइकलसहित पक्राउ गरेको हो। अधिकारीलाई बुधबार जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी जिल्ला प्रहरी कार्यालय कास्कीमातहतको इलाका प्रहरी कार्यालयबाट आवश्यक थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाइएको छ। 
 

सुझावित समाचार