विश्वशान्ति कायम गर्न प्रेरित गर्दै बौद्ध गुरुहरू

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

विश्व सम्पदामा सूचीकृत लुम्बिनी क्षेत्रमा बौद्ध गुरुहरूले अहिले विश्वशान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेका छन् । अखिल नेपाल भिक्षु महासंघको आयोजनामा जारी चौथो त्रिपिटक वाचन समारोहमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बौद्ध धर्म गुरुहरूले विश्वशान्ति तथा मानव कल्याणका लागि गरेको कामनाले सबैको ध्यानाकर्षण गराएका हुन् ।

समारोहमा नेपाल, भारत, श्रीलंका, कम्बोडिया, थाइल्यान्ड, चीन, कोरिया, जापानलगायत १६ देशका लामा, बौद्ध भिक्षु तथा भिक्षुणी गरी करिब दुई हजारको सहभागिता रहेको छ ।

महासंघले मुलुकमा धार्मिक पर्यटन प्रवर्द्धनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बौद्ध साहित्यको प्रचारप्रसार गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरपरिसरमा यही फागुन २० देखि २५ गतेसम्म सुरु गरिएको आध्यात्मिक कार्यक्रममा बुधबारदेखि चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ गरिएको हो ।

उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी विकास कोषका अध्यक्ष ल्यारक्याल लामा र महासंघका अध्यक्ष भिक्षु बोधिसेन महास्थवीरले दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका हुन् ।

शाक्यमुनि बुद्धले बोधिसत्व प्राप्त गरेपछि करिब ४५ वर्षसम्म विभिन्न स्थानमा निरन्तर प्रदान गरेका उपदेश तथा आध्यात्मिक ज्ञान संग्रहित ग्रन्थ त्रिपिटक हो । महासंघका कोषाध्यक्ष भिक्षु बोधिज्ञानले विश्वका विभिन्न शक्तिराष्ट्रबिचको द्वन्द्व अन्त्य गरी सुखपूर्वक मानिसको जीवनयापनको अधिकारलाई सुनिश्चित गर्न यस्ता आध्यात्मिक गतिविधि महत्त्वपूर्ण हुने विचार व्यक्त गरे ।

अभिधर्म, सूत्र र विनय गरी तीन भागमा वर्गीकरण गरिएको त्रिपिटकलाई बौद्ध साहित्यमा मूल ग्रन्थ मानिएको छ । उक्त ग्रन्थलाई विभिन्न भाषामा अनुवाद गरिएको छ । थेरवाद, महायानलगायत सबै सम्प्रदायका बौद्ध धर्मावलम्बीले अवलम्बन गर्ने यो ग्रन्थलाई सम्बन्धित सम्प्रदायको धार्मिक प्रभावअनुसार अभ्यास गर्ने गरेको पाइन्छ ।

बुद्धले बोधगयामा बुद्धत्व प्राप्त गरेका थिए । त्यसपछिका ४५ वर्ष उनले मानिसहरूलाई धर्म–दर्शन तथा सामाजिक जीवनका कुरा बताए । बुद्धका ती उपदेशलाई उनीहरू ‘बुद्ध वचन’का रूपमा स्मृतिमा संगाल्थे र छलफलसमेत गर्थे । तर, त्यसवेला लिपिबद्ध गर्ने काम हुन सकेन ।

बुद्ध वचनको संग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधम्म पिटकको वाचन गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भिक्षु तथा धर्मगुरुले सूत्रपिटकअन्तर्गतको दीर्घ निकायको ब्रह्मजाल सूत्र वाचन गरेर त्रिपिटक वाचनको सुरुवात गरेका हुन् ।

पाली भाषामा लेखिएको त्रिपिटक ग्रन्थलाई विभिन्न भाषामा अनुवाद गरिएको छ । यस ग्रन्थमा भगवान् बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयदेखि महापरिनिर्वाण हुनुअघिसम्म दिएका प्रवचन संग्रह गरिएको छ । पाली भाषामा लेखिएको त्रिपिटकमा ८४ हजार धार्मिक उपदेश समावेश गरिएका छन् ।

बौद्ध साहित्य तथा दर्शनको विकास क्रममा विभिन्न प्रकृतिका मानिस भिक्षु संघमा प्रवेश गरेकाले पनि विवाद आएको पाइन्छ । सम्राट अशोकले भिक्षु संघलाई एकीकरण गर्ने उद्देश्यले महास्थवीर मोग्गली पुत्त तिस्सको अध्यक्षतामा पाटलीपुत्रमा तृतीय संगायन गरेको इतिहास पाइन्छ ।

सुझावित समाचार