आयोजक युगान्डासहित नेपाल, नामिबिया र हङकङले ८ देखि १८ मार्चसम्म डबल राउन्ड रोबिनअनुसार प्रतिस्पर्धा गर्ने
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डामा आयोजना हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजको तयारी पूरा गरेको छ । ८ देखि १६ मार्चसम्म आयोजक युगान्डासँगै नेपाल, हङकङ र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । युगान्डा क्रिकेट संघको आयोजना हुने चार राष्ट्र सम्मिलित सिरिज डबल राउन्ड रोबिनअनुसार हुनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एक महिनाको अन्तरमा महिला टोलीले दोस्रोपटक टी–२० आई सिरिज खेल्न लागेको हो । गत महिना कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेपाल, थाइल्यान्ड र नेदरल्यान्ड्सबिच त्रिकोणात्मक सिरिज भएको थियो । जसमा नेपालले पुछारमा रह्यो । नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटरलाई एक्सपोजर प्रदान गर्नका लागि टी–२० आई सिरिजमा सहभागी गराएको जनाएको छ । प्रतियोगितामा सहभागी हुन इन्दु वर्माको कप्तानीमा नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने क्यानले जनाएको छ ।
प्रतियोगितामा नेपालको नयाँ प्रतिद्वन्द्वी नामिबिया हो । यसबाहेक नेपालले युगान्डा र हङकङसँग प्रतिस्पर्धा गरिसकेको छ । नेपालले युगान्डासँग एक सिरिज खेलेको छ । त्रिवि मैदानमा भएको पाँच खेलको टी–२० सिरिजमा युगान्डाले ३–२ ले विजयी भएको थियो । नेपालले अहिलेसम्म हङकङविरुद्ध आठवटा टी–२० आई खेलेको छ । हङकङले चार र नेपालले तीन जित निकालेको छ । यी दुवै टोलीबिच एक खेल नतिजाविहीन भएको थियो । नेपालले सन् २०१९ मा पहिलो अन्तर्राष्ट्रिय टी–२० आई खेलेको थियो ।
महिला क्रिकेट टोलीको पहिलो टी–२० आईको प्रतिद्वन्द्वी चीन थियो । ६ वर्षअघि टी–२० आइमा डेब्यु गरेको नेपालले अहिलेसम्म ६४ खेल खेलेको छ । जसमा नेपालले ३९ जित र २४ खेलमा हारको सामना गरेको छ । सन् २०२५ को सिजनमा नेपालले ६ वटा टी–२० खेल खेल्दा सबैमा हारको सामना गरेको छ । टोलीमा सबैभन्दा अनुभवी खेलाडीका रूपमा ओपनर सीता रानामगर हुन् । उनले ब्याटिङमा ९६१ रन तथा बलिङमा ५८ विकेट हात पारेकी छिन् । टी–२० आईमा एक हजार रन पूरा गर्न सीतालाई ३९ रनको आवश्यक छ । तर, उनी युगान्डा भ्रमणमा छैनन् । फिटनेसका कारण उनले यसपटक टोलीमा स्थान बनाउन सकिनन् ।
यस्ता छन् नेपालका प्रतिद्वन्द्वी
युगान्डा : आयोजकको नाताले युगान्डालाई घरेलु मैदानको फाइदा हुनेछ । घरेलु दर्शक र मैदानको फाइदा लिँदै युगान्डाले सहभागी टोलीमाथि दबाव राख्नेछ । सन् १९९६ मा युगान्डाले आइसिसीको सदस्यता प्राप्त गरेको थियो । सन् २०१८ मा युगान्डाले स्कटल्यान्डविरुद्ध पहिलो टी–२० आई खेलेको थियो । अहिलेसम्म यस राष्ट्रले ८९ वटा टी–२० खेल खेलेको छ । जसमध्ये ५५ खेलमा जित र ३४ खेलमा हार सामना गरेको छ । सन् २०१८ मा युगान्डाले पहिलोपटक टी–२० महिला विश्वकप छनोट खेलेको थियो । यस वर्ष युगान्डाको यो नै पहिलो अन्तर्राष्ट्रिय खेल हो । युगान्डाले आइसिसी टी–२० विश्वकप छनोट खेलेको छ । ग्लोबल छनोटमा युगान्डाले अमेरिकालाई पाखा लगाएको थियो । यसबाहेक श्रीलंका, स्कटल्यान्ड र थाइल्यान्डसँग युगान्डा पराजित भएको थियो । ७ जुन २०२४ मा क्यामरुनसँगको खेलपछि युगान्डाले कुनै पनि अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएको छैन । युगान्डाले सन् २०२४ को जुनमा कुइबुका महिला टी–२० को फाइनलमा जिम्बाबे ‘ए’लाई हराएको थियो ।
नामिबिया : सहभागीमध्ये नामिबिया अनुभवी टोली हो । सन् १९९२ मा नामिबिया आइसिसीको सदस्य बनेको थियो । अहिलेसम्म नामिबियाले ८५ टी–२० आई खेलेको छ । जसमा ५२ जित र ३२ खेलमा हारको सामना गरेको छ । नामिबियाले सन् २०१८ मा टी–२० आईमा डेब्यु गरेको थियो । पछिल्लो समय नामिबियाले निरन्तर रूपमा टी–२० आई सिरिज खेलिरहेको छ । हङकङमा भएको चारदेशीय टी–२०आई सिरिजमा नामिबिया थाइल्यान्डसँग उपाधि भिडन्तमा पराजित भएको थियो । मलेसियाविरुद्ध तीनवटा टी–२०आई नामिबियाले क्लिन स्विप गरेको थियो । गत वर्षको सेप्टेम्बरमा नामिबियाले जिम्बाबेलाई हराएको थियो ।
हङकङ : सिरिजमा सहभागीमध्ये हङकङ सबैभन्दा कम वरीयताको राष्ट्र हो । सन् १९६९ मै आइसिसीको सदस्यता लिएको हङकङले सन् २०१९ मा इन्डोनेसियाविरुद्ध पहिलो टी–२० आई खेलेको थियो । अहिलेसम्म हङकङले ८० टी–२० आई खेल्दा ४५ जित र ३३ खेलमा हारको सामना गरेको छ । सहभागीमध्ये हङकङ सबैभन्दा फर्ममा रहेको टोली हो । गत वर्षको डिसेम्बरमा घरेलु भूमिमा हङकङले चार राष्ट्र सम्मिलित टी–२० आईमा प्रतिस्पर्धा गरेको थियो । गत वर्षको नोभेम्बरमा चीन, हङकङ, म्यानमार र मंगोलिया सम्मिलित महिला टी–२० आईको उपाधि हङकङले जितेको थियो ।