सेवामूलक क्षेत्रमा जमिरहेको व्यावसायिक घराना आइएमई समूह उत्पादनमूलक उद्योगमा पनि प्रवेश गरेको छ । महोत्तरीको गौशालामा पेपर र रौतहटमा सिमेन्ट फाइबर बोर्ड उद्योग स्थापना गरेर आइएमई समूह उद्योगमा प्रवेश गरेको हो ।
महोत्तरीमा दुई अर्ब लगानीमा स्थापना गरिएको नेपाल पल्स एन्ड पेपर इन्डस्ट्रिजको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै छन् । रौतहटको विजयपुर फतवामा स्थापित ‘एभरेस्ट फाइबर बोर्ड’ उद्योग वैशाखदेखि सञ्चालनमा आउने आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले बताए । उनले भने, ‘हामी सेवा क्षेत्रमा केन्द्रित थियौँ, अब उत्पादनमूलक क्षेत्रमा पनि गयौँ ।’
पेपर उद्योगको दैनिक उत्पादन क्षमता ७० टन रहेको छ । डेढ अर्ब लगानी रहने सिमेन्ट फाइबर बोर्डको उत्पादन क्षमता दैनिक ७० हजारदेखि एक लाख वर्गफिट रहेको उद्योगका महाप्रबन्धक प्रदीप पण्डितले जानकारी दिए । ‘अहिले सिमेन्ट फाइबर बोर्ड उद्योगमा मेसिनरी जडान र ड्राई परीक्षणको काम भइरहेको छ,’ उनले भने, ‘छिट्टै मेसिनरी जडान र परीक्षणको काम सकेर उत्पादनमा जाँदै छौँ ।’ योसँगै बैंक वित्त, फिनटेक, पर्यटन, हाइड्रो, अटोमोबाइललगायत सेवा क्षेत्रमा जमिरहेको समूह उद्योग क्षेत्रमा पनि प्रवेश गरेको छ ।
‘स्वदेशी कच्चा पदार्थको उपयोग गर्दै आयात प्रतिस्थापनको मुख्य ध्येयसहित उत्पादनमूलक उद्योगमा प्रवेश गरेका हौँ, हामी स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगमा केन्द्रित हुनेछौँ’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले भने, ‘देशको समृद्धिमा योगदान पुग्ने खालका उत्पादन र सेवामूलक क्षेत्रमा लगानी बढाउँदै जानेछौँ ।’ स्वदेशमै गुणस्तरीय फाइबर बोर्ड उत्पादन गर्ने उद्देश्यसहित देशमै पहिलो अत्याधुनिक उद्योग सञ्चालनमा ल्याउन लागेको उनको भनाइ छ । सिमेन्ट फाइबर बोर्ड उद्योग चार बिघा क्षेत्रफलमा फैलिएको छ । तीन बिघामा उद्योग र एक बिघामा कच्चा पदार्थ रहने उद्योगका प्रबन्ध निर्देशक पण्डितले बताए । अहिले ७० हजार वर्गफिट बोर्ड उत्पादन क्षमता रहे पनि बजार मागअनुसार क्षमता बढाउने उनको भनाइ छ । ‘अहिले भारत र चीनबाट वार्षिक दुई अर्बभन्दा बढीको सिमेन्ट फाइबर बोर्ड आयात हुने गरेको छ,’ पण्डितले भने, ‘हाम्रो उद्देश्य सिमेन्ट फाइबर बोर्डको आयात प्रतिस्थापन गरी निर्यातसम्म गर्ने रहेको छ ।’
अहिले उद्योगमा चिनियाँ लेटेस्ट प्रविधिको उद्योग जडान र ड्राई परीक्षणको काम चलिरहेको छ । उद्योगको उत्पादनमा करिब ५० प्रतिशत सिमेन्ट र अरू ५० प्रतिशत फाइबरलगायत अन्य कच्चा पदार्थ प्रयोग हुनेछ ।