राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आमनागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।
नेपाल चिकित्सक संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार भएको बताउँदै भने, ‘संविधानको यो भावना र मर्मलाई आत्मसात् गर्दै चिकित्सकले यो पेसालाई सेवा भावको दृष्टिकोणले हेर्नु हुनेछ भन्ने पनि विश्वास लिएको छु।’
राष्ट्रपति पौडेलले नेपाली जनताको ठुलो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको स्पष्ट पारे।
उनले देशका दूरदराजमा अझै पनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको भन्दै यो अवस्थालाई गम्भीरतापूर्वक लिएर देशका कुनाकुनामा दक्ष, विज्ञ चिकित्सकको सेवा पुर्याउन आवश्यक रहेको बताए।
उनले भने, ‘आजको यस विशेष अवसरमा सबैलाई आ–आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन म आह्वान पनि गर्दछु।’
राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य शिक्षा अब्बल हुँदै दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु सुखद पक्ष भएको बताउँदै नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको आफैँले अनुभव गरेको उल्लेख गरे। उनले स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरू बिदेसिने क्रम बढ्नु चिन्ताको विषय भएको बताउँदै यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्न, देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि आउने दिनमा नेपाल चिकित्सक संघको भूमिका अझ प्रभावकारी हुने राष्ट्रपति पौडेलको भनाइ थियो।
सो अवसरमा लिजेन्ड इन मेडिसिनबाट डा. गौरीशंकरलाल दास, डा. मृगेन्द्रराज पाण्डे, डा. दिनेशनाथ गंगोल, डा. डिबी कार्की र डा. सरस्वती पाध्येयलाई राष्ट्रपति पौडेलले सम्मान गरेका थिए।