तातोपानी नाकाबाट पनि चोभारमा कन्टेनर आउन थाले

मंगलबार, २० फागुन, २०८१
डिजिटल संस्करण

काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि तातोपानी नाकाबाट समेत कन्टेनर आउन थालेका छन् । यसअघि वीरगन्जबाट मात्रै कन्टेनर कार्गो चोभारमा भन्सार पास गर्न आउने गरेको थियो ।

१५ फागुनदेखि भने तातोपानी नाकाबाट समेत मालवाहक सवारीसाधन भन्सार जाँचपासका लागि चोभारमा आउन थालेको नेपाल इन्टरमोडेल यातायात विकास समितिले जनाएको छ । समितिका अनुसार १५ फागुनमा कोभेक–क्रिग–कालिका जोइन्ट भेन्चर कम्पनीले आयात गरेको हाइड्रोपावरको सामान बोकेका चारवटा कन्टेनर तातोपानी नाकाबाट भन्सार जाँचपासका लागि सीधै चोभार सुक्खा बन्दरगाह ल्याइएका हुन् ।

तातोपानी नाकाबाट समेत कन्टेनराइज्ड मालवस्तु आउन थालेपछि चोभार सुक्खा बन्दरगाहमा थप चहलपहल बढ्न थालेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । यसबाट सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन थप टेवा पुग्ने उनको भनाइ छ ।

२२ चैत ०७८ देखि सञ्चालनमा आएको चोभारमा सुक्खा बन्दरगाहमा हालसम्म दक्षिणी नाका (वीरगन्ज)बाट मात्र कन्टेनराइज्ड कार्गो र नयाँ सवारीसाधन भन्सार जाँचपासका लागि आउने गरेका थिए ।

अर्थ मन्त्रालयले कात्तिक ०८१ मा राजपत्रमा सूचना प्रकाशित गरी तातोपानी र रसुवा भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासका लागि सामान ल्याउन चाहने पैठारीकर्ताका लागि सडकमार्ग तोकेको थियो ।

See More On

सुझावित समाचार