एमडिएमएससम्बन्धी भ्रष्टाचार मुद्दा एक महिनादेखि विशेष अदालतमा हेर्दाहेर्दैमा

सोमबार, १९ फागुन, २०८१
डिजिटल संस्करण

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)को परामर्श सेवा खरिदमा भएको भ्रष्टाचारको मुद्दामा विशेष अदालतले एक महिनादेखि सुनुवाइ गरिरहेको छ । एक वर्षअघि दायर गैरकानुनी लाभको मुद्दालाई एक महिनादेखि हेर्दाहेर्दैमा राखेर सुनुवाइ गरिरहेको हो । 

यस मुद्दालाई विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले हेर्दाहेर्दैमा राखेको हो । २१ माघमा उक्त इजलासमा परेको यो मुद्दालाई आइतबार पनि हेर्दाहेर्दैमा राखिएको थियो भने सोमबार पनि सुनुवाइ भइरहेको छ । विशेषका अनुसार यस मुद्दामा आइतबार दुईजनाले बहस गरेका छन् भने जवाफी बहस बाँकी नै छ । 

अख्तियारले गत वर्ष १५ चैतमा यस घटनामा मुद्दा दायर गरेको थियो । जसमा २० प्रतिवादी छन् । एमडिएमएसको खरिद प्रक्रियामा सार्वजनिक खरिद नियमावलीका प्रावधान मिचिएको ठहर अख्तियारको थियो । खरिद गर्नुपूर्वका कार्य नभएको अभियोग प्रतिवादीहरूउपर छ । 

यस मुद्दामा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनाल प्रतिवादी छन् । प्राधिकरणका निर्देशक तथा वरिष्ठ निर्देशक आनन्दराज खनाल, उपनिर्देशक मीनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठ, सहायक निर्देशक सन्दीप अधिकारी, सहायक निर्देशक सूर्यप्रसाद लामिछाने र उपनिर्देशक अच्युतानन्द मिश्र तथा सहायक निर्देशकहरू विजयकुमार राय, प्रतीक्षा पौडेल र नीराजन कोइरालाविरुद्ध मुद्दा दर्ता भएको थियो । 

उनीहरूमाथि ९१ करोड ९८ लाख रुपैयाँभन्दा बढीको बिगो मागदाबी गरिएको छ । आफू र परामर्शदाता कम्पनीलाई सहयोग पुर्याउने हिसाबले बदनियतपूर्वक गलत लिखत पेस गरे–गराएको अभियोग छ । दिगम्बर झा र खनालउपर थप सजायको माग गरिएको छ । 

यस मुद्दामा परामर्श कार्यमा संलग्न कम्पनीका तर्फबाट मोहम्मद नूर अमिन बिन मोहम्मद नूर खान, खरिद कार्यको वार्तामा संलग्न दातुक मुहोम्मद सिहाब, कम्पनीकै अनुज सिंहलगायत विदेशीहरूलाई अख्तियारले प्रतिवादी कायम गरेको छ । उनीहरूसँग २३ करोड २० लाख रुपैयाँभन्दा बढीको बिगो मागदाबी गरिएको छ । 
 

सुझावित समाचार