गत १६ भदौमा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १ असोजबाट सयदिने (१ असोजदेखि १० पुससम्म) पाँच लाख नयाँ पार्टी सदस्य थप्ने महत्त्वाकांक्षी योजनासहित विशेष सांगठनिक अभियान घोषणा गर्यो । केन्द्रीय समितिले तत्कालीन समयमा आगामी निर्वाचन आफ्नै तागतमा निर्वाचन नीति लिएको थियो । जसअनुसार संगठन सुदृढीकरणलाई केन्द्रमा राखेर अभियानलाई अगाडि बढाएको थियो ।
तर, अभियान ७ असोजबाट सुरु भयो र राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन १६ पुसमा अभियान समापन गर्ने कार्यतालिका तय भयो । यसबिचमा दसैँअघिको वर्षालगायत कारण अभियान लम्बिएको थियो । कोजाग्रत पूर्णिमासम्मका लागि कार्यक्रम स्थगित भयो । त्यसपछि दुईपटक समय थप गरेर १६ माघमा समापन गर्ने निर्णय गरेको थियो । तर, महत्त्वपूर्ण उद्देश्य राखेर थालिएको अभियान पछिल्लो समय अलपत्रजस्तै छ ।
१६ माघपछि न अभियानको समय थप गरिएको छ, न औपचारिक रूपमा समापन नै । प्रचार विभाग प्रमुख मीन विश्वकर्मा कार्यतालिकाअनुसार अभियान समापन हुन नसकेको स्विकार्छन् । उनले केही जिल्लाबाहेकको अभियान सकिएको बताए । अभियानका लागि नयाँ समय थप नगरेको उनको भनाइ छ । ‘कार्यतालिकाअनुसारको अन्तिम समय १६ माघ नै हो । त्यसबाहेक समय थप गरिएको छैन । केहीबाहेक अधिकांश जिल्लाका अभियान सकिएको छ । २८ माघमा सुनसरीमा समापन हुन लागेको जानकारी छ,’ उनले भने, ‘त्यसबाहेक अन्यत्र अभियान बाँकी रहेको जानकारी छैन ।’
अभियानअन्तर्गत सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन, विधानबमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिलेखीकरण, कार्यतालिका निर्माणलगायत कार्य समयमै गर्न–गराउन, अभिलेखीकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन, जनप्रतिनिधिसँगको समन्वय र सहजीकरण संयन्त्रलाई नियमित र व्यवस्थित गर्नेलगायत उद्देश्य राखेको थियो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन १६ पुसमा समापनको तयारी गरिएकोमा केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपनिर्वाचनलगायत कारण ढिलाइ भएकाले १६ माघमा समापन गर्ने गरी समय थप गरिएको थियो । गत वर्ष कांग्रेसले एक वर्षमा सात लाख नयाँ सदस्य थप्ने महत्त्वाकांक्षी योजनासहित ‘घरघर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान सञ्चालन गरेको थियो । तर, लक्ष्यअनुसार सदस्यता बनाउन असफल भयो ।