‘नो केबलकार’ समूहलाई आज वार्ताका लागि पत्र पठाउने तयारी

आइतबार, १८ फागुन, २०८१
डिजिटल संस्करण

पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोध जनाउँदै आएको ‘नो केबलकार’ समूहलाई वार्ताका लागि सरकारी वार्ता टोलीले आइतबार औपचारिकपत्र पठाउने भएको छ । वार्ताका लागि सरकारले गठन गरेको टोलीका संयोजक गृहसहसचिव प्रेमप्रसाद भट्टराईका अनुसार आन्दोलनरत पक्षलाई आइतबार औपचारिकपत्र लेख्ने र सोमबार वार्ता गर्ने तयारी छ । 

  • प्रेमप्रसाद भट्टराई, संयोजक, सरकारी वार्ता टोली
  • सरकारी वार्ता टोलीका तर्फबाट बिहीबार आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने भनिएको थियो, तर संघीय सांसद र गृहमन्त्रीको छलफल अपडेटका आधारमा आन्दोलनरत पक्षलाई वार्ताका लागि पत्र पठाइने भएकाले ढिला भएको हो । 

सहसचिव भट्टराईले गृहमन्त्री रमेश लेखक र कोशी प्रदेशका जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदबिच भएको छलफलको अपडेट लिएर सोही आधारमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने तयारी गरिएको जानकारी दिए । यसअघि सरकारी वार्ता टोलीका तर्फबाट बिहीबार आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने भनिएको थियो, तर संघीय सांसद र गृहमन्त्रीको छलफल अपडेटका आधारमा आन्दोलनरत पक्षलाई वार्ताका लागि पत्र पठाइने भएकाले ढिला भएको सहसचिव भट्टराईले जानकारी दिए । 

आन्दोलनरत पक्षले भने मन्त्रिस्तरीय वार्ता टोली गठन गर्नुपर्नेसहितका चारबुँदे सर्त अघि सारेको छ । उसले बिहीबार दिउँसो दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । घोषित आन्दोलनअनुसार उक्त समूहले शनिबार कोशी प्रदेश र मधेश प्रदेशभर प्रदर्शन र जुलुस निकालेको छ । ‘नो केबलकार’ पक्षधर एवं मुक्कुम्लुङ अभियन्ता राम मादेनले १८ फागुनमा ग्लोबल जुम बैठक गर्ने र त्यसको तीन दिनपछि काठमाडौंमा बृहत् जनप्रदर्शन र विरोध सभा गर्ने बताए । मादेनले केबलकार खारेजीबाहेक विकल्प नभएको, तर वार्ताको टेबलमा बसेपछि नै समस्या सुल्झाने विश्वास लिएको बताए । 

वार्तामा बस्नुअघि ‘नो केबलकार’ पक्षले विज्ञप्ति सार्वजनिक गर्दै पक्राउ परेका कार्यकर्ता रिहाइ, केबलकार निर्माण क्षेत्रबाट सुरक्षा फौज फिर्ता र केबलकार निर्माण बन्द गरी त्यहाँबाट निर्माण सामग्री र उपकरण तथा निर्माणमा खटिएका जनशक्ति फिर्ता हुनुपर्ने सर्त अघि सारेका छन् ।

सुझावित समाचार