बाढीपहिरोले तातोपानी भन्सारलाई तीन अर्बको नोक्सानी

शुक्रबार, १६ फागुन, २०८१
डिजिटल संस्करण

गत १२ असोजको बाढीपहिरोले भोटेकोशी नदीको लार्चास्थित बेलिब्रिज बगायो । सोही दिन लिपिङखोलाको पक्कीपुल पनि बगायो । त्यसै दिनदेखि बन्द तातोपानी नाका ह्युमपाइप राखेर २६ दिनपछि अस्थायी रूपमा खुला भएको थियो । स्थायी रूपमा नाका सञ्चालन गर्ने गरी ६ माघमा लिपिङखोलामा बेलिब्रिज जडान सुरु भएको थियो । सोेमबार उक्त बेलिब्रिज निर्माण सम्पन्न भएसँगै नाका स्थायी रूपमा खुलेको छ । 

प्राकृतिक विपत्तिले सिर्जना गरेका अड्चनले चालूआर्थिक वर्षमा तातोपानी भन्सार दुई महिनाजति ठप्प बनेको थियो । तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्ले भन्छन्, ‘विपत्तिबाट सिर्जित समस्याले राजस्व संकलनमा धेरै असर गरेको छ । दैनिक सरदर पाँच करोडको हिसाबले पनि दुई महिनामा करिब तीन अर्ब राजस्व गुमाउनुपरेको छ,’ उनले भने ।राजस्वमा रहेको सीधा घाटाको अलवा थुप्रै प्रकारका व्यापारिक नोक्सानी व्यहोर्नुपरेको उनले प्रस्ट्याए ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत भन्छन्, ‘असोजको बाढीपहिरो र पटक–पटक नाका बन्द रहँदा दसैँ–तिहारका सामान समयमै नेपाल आइपुगेनन् । परिणामस्वरूप व्यापारीलाई ठुलो नोक्सान भयो । फलफूल व्यापारीले करोडौँ घाटा सहनुपर्यो ।’ तातोपानी नाका व्यापारीको लाइफलाइन भएकाले जीर्ण कोदारी सडकको स्तरोन्नतिमा राज्यले वेलैमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

बेलिब्रिज जडानपछि आयात नियमित 
६ माघदेखि आयात बन्द गरेर सडक डिभिजन कार्यालय चरिकोटले लिपिङखोलामा फाउन्डेसन तयार पार्यो । १५ दिनमा जग तयारी गरेपछि ६ दिनमा नेपाली सेनाले बेलिब्रिज जडान गर्यो । २८ माघमा भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पा र नेपाली सेनाको २६ नम्बर बाहिनी प्रमुख सहायक रथी अशोक गुरुङले संयुक्तरूपमा ४५.७२ मिटर लामो बेलिब्रिज उद्घाटन गरेर सोही दिन सडक डिभिजनलाई हस्तान्तरण गरे । 

आइतबार साँझबाट साना सवारी आउजाउ गरेपछि सोमबार दिउँसोबाट खासामा रहेका व्यापारिक सामग्री धमाधम तातोपानी भन्सारमा आयात हुन थालेका छन् । सूचना अधिकृत काफ्लेले दिएको जानकारीअनुसार दैनिक १० कन्टेनर सामान आयात भएका छन् । चिनियाँ एक कन्टेनरमा २० फुटे नेपाली दुई कन्टेनर बराबर सामान हुन्छ । 

लिपिङखोलामा बेलिब्रिज निर्माण भएर कन्टेनर वारपार गरेपनि सडक डिभिजनले रिटेनिङ वाल निर्माण सुरु गरेको छैन । जग र बेलिब्रिजको दुवै साइडमा रिटेनिङ वाल निर्माण नहुँदासम्म पुल बलियो हुँदैन । 

ह्युमपाइप राखेर सञ्चालनमा रहेको लार्चास्थित भोटेकोशी नदीमा भने बेलिब्रिज जडान गर्ने टुंगो छैन । बर्खाअघि नै बेलिब्रिज जडान नगर्ने हो भने आगामी बर्खाभर तातोपानी नाका बन्द रहने अवस्था आउने निश्चित छ । बेलिब्रिजबाहेक १० ठाउँ सडक पहिरोका कारण जोखिमपूर्ण रहेका छन् । 

सुझावित समाचार