प्रेरक प्रसंग : गलत संगतको परिणाम

शुक्रबार, १६ फागुन, २०८१
डिजिटल संस्करण

सानैदेखि मिहिनेती छात्र अमन कलेज पुगेपछि खराब संगतमा परे । परिवारजनसँग झुटो पनि बोल्न थाले । झुटो बोलेर पैसा फुत्काउनु अनि साथीहरूसँग बसेर उडाउनु उनको दैनिकी बन्न थाल्यो । उनले पढाइमा खासै ध्यान दिएनन् । 

यस्तैमा परीक्षा आयो । अमनले केही दिनको तयारी त गरे, तर त्यो पर्याप्त भएन । नतिजा आउँदा उनी एक विषयमा फेल भए । जहिल्यै राम्रो नम्बरका साथ पास हुने अमनलाई यसले ठुलै झट्का दियो । उनले अब घरबाट बाहिर निस्कन र घरमा कसैसित बोलचाल गर्नसमेत छाडिदिए । उनी रातदिन चुपचाप कोठामा बसिरहन्थे । उनको यस्तो अवस्थाबाट चिन्तित परिवारजनले उनलाई परीक्षाको नतिजा बिर्सेर मिहिनेत गर्न सल्लाह दिए । तर, अमनमा सुधार देखिएन । 

अमनको यो अवस्थाबारे उनको हाई स्कुलका प्रधानाध्यापकले पनि थाहा पाए । उनले अमनलाई यस अवस्थाबाट बाहिर निकाल्न कोसिस गर्ने विचारले एक दिन आफ्नो घरमा बोलाए । निर्धारित समयमा अमन प्रधानाध्यापकको घर पुगे । मौसम निकै चिसो थियो । उनी पुग्दा प्रधानाध्यापक कुर्सीमा बसेर मकलमा आगो ताप्दै थिए । अमन पनि नजिकै बसेर आगो ताप्न थाले । केही समयसम्म दुवै मौन रहे । १०–१५ मिनेटपछि प्रधानाध्यापकले एउटा भर्भराउँदो कोइलालाई चिम्टाले च्यापेर भुइँमा फाले । केहीबेर तातो दिए पनि कोइला एकैछिनमा कालो अंगारमा परिणत भयो । यो सब हेरिरहेको अमनले भने– सर, हजुरले त्यस्तो भर्भराउँदो कोइलालाई भुइँमा किन फाल्नुभयो ? हेर्नुस् त त्यो एक बेकारको अंगारमा परिणत भयो । बरु मकलमै छोडिदिनुभएको भए तातो त दिने थियो । मुसुक्क हाँसेर प्रधानाध्यापकले भने– ठिक छ अमन, केहीबेर भुइँमा रहँदैमा यो अंगार बेकारको भएको छैन । ल म पुनः यसलाई मकलमै हालिदिन्छु । यति भनेर उनले त्यो अंगारलाई मकलमै हालिदिए । एकैछिनमा त्यो पुनः भर्भराउँदो कोइला बन्यो । 

प्रधानाध्यापकले गम्भीर हुँदै भने– देख्यौ अमन, तिमी पनि यो कोइलाजस्तै हौ । माटोमा पर्दा भर्भराउँदो कोइला कालो अंगारमा परिणत भएजस्तै खराब संगतका कारण तिमी केही पछि परेका मात्र हौ । पुनः मकलमा पुग्दा अंगार कोइला बनेजस्तै तिमी पनि राम्रो संगतमा लाग्यौ भने पुनः पहिलेकै स्थानमा पुग्न सक्छौ । अमनले सबै कुरा बुझे र चुपचाप उठेर प्रधानाध्यापकको पाउ छोएर भर्भराउँदो कोइला बन्ने प्रणका साथ त्यहाँबाट निस्किए ।
 

सुझावित समाचार