शिवरात्रिमा सामूहिक रूपमा भेला भएर माछा मार्ने अनौठो प्रचलन

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

तनहुँको भिमाद नगरपालिका– ३ स्थित बुढुवाखोलामा शिवरात्रि पर्वमा स्थानीयवासीले सामूहिक रूपमा भेला भएर माछा मार्ने प्रचलनलाई निरन्तरता दिएका छन् । यहाँ वर्षौँदेखि स्थानीयवासीले महाशिवरात्रि पर्वमा सामूहिक रूपमा माछा मार्दै आएका छन् ।

शिवरात्रिको दिन बिहानदेखि खोलामा माछा मार्नेको भिड लागेको स्थानीयवासी चेतबहादुर मल्लले जानकारी दिए। शिवरात्रिमा यस खोलामा माछा मार्ने प्रचलन वर्षौँदेखि चलिआएको र त्यसलाई यहाँका स्थानीयवासीले निरन्तरता दिएको उनले बताए।

‘माछा मार्ने यहाँको प्रचलन नै हो । यसलाई प्रत्येक वर्ष स्थानीयवासीले निरन्तरता दिएका छन् । हामीले थाहा पाएदेखि नै यो चलन रहँदै आएको छ,’ मल्लले भने ।

माछा मार्ने कार्यमा सहभागी भएका वसन्तसिंह ठकुरीले विगतका वर्षमा तीन–चार सय व्यक्ति भेला भई माछा मार्ने गरे पनि यस वर्ष भने करिब दुई सयको  संख्यामा सहभागी भएको जानकारी दिए। उनका अनुसार माछा मार्न बालक, युवादेखि वृद्धसम्म बुढुवाखोला पुगेका थिए । ढडिया, जाल, डोकोलगायत सामग्री प्रयोग गरी परम्परागत रूपमा माछा मार्ने प्रचलन रहँदै आएको छ ।

भिमाद नगरपालिका– ३ का वडाध्यक्ष पदम ठकुरीले माछा मार्ने प्रचलनले स्थानीयवासीबिच भाइचाराको विकास भएको बताए। उनले भने, ‘यो एउटा चलिआएको चलन मात्र नभई आपसी सदभाव र भाइचाराको विकास गर्ने माध्यम पनि बनेको छ ।’

विगत वर्षमा स्थानीयवासीले माछा मारेर फुर्लङभरि लैजाने गरे पनि आजभोलि करेन्ट र विषादीको प्रयोगले बुढुवाखोलामा माछा कम पाउन थालेका छन् । शिवालय नजानेहरू शिवरात्रिमा यहाँ माछा मार्न आउने गरेका छन् ।

यसपटकको महाशिवरात्रिमा घिरिङ गाउँपालिका– ४ र ५ तथा भिमाद नगरपालिका– ३ का स्थानीय माछा मार्न सहभागी भएका जनाइएको छ ।

सुझावित समाचार