वीरगन्ज नाकाबाट सात महिनामा ४० अर्ब ३४ करोडको वस्तु तथा सामान निर्यात

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

वीरगन्ज भन्सार नाका हुँदै चालू आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्यबराबरका वस्तु तथा सामान निर्यात भएकाे छ ।

गत आवको सात महिनाको तुलनामा चालू आवको सोही अवधिमा नाकाबाट हुने निर्यात झन्डै दोब्बरभन्दा धेरै बढेको छ । गत आवको सात महिनाको अवधिमा यो नाका हुँदै १७ अर्ब सात करोड ९५ लाख ६० हजार मूल्यबराबरको वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो ।

मुलुकभर रहेका साना–ठुला २८ भन्सार नाकामध्ये वीरगन्ज भन्सार नाका हुँदै भएको निर्यातको हिस्सा भने ३१.७२ प्रतिशत रहेको छ । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालू आवमा प्रशोधित सूर्यमुखी र भटमासको तेल निर्यात बढेसँगै समग्रमा निर्यात बढेको बताए । ‘गत आवको तुलनामा चालू आवमा निर्यातमा उत्साहजनक ढंगले वृद्धि हुँदै आइरहेको छ,’ उनले भने ।

वीरगन्ज भन्सार नाका हुँदै चालू आवको सात महिनाको अवधिमा १९ अर्ब ३६ करोड रुपैयाँ मूल्यको प्रशोधित भटमासको तेल निर्यात भएको छ । त्यस्तै, सोही अवधिमा चार अर्ब ६३ करोड मूल्य पर्ने प्रशोधित सूर्यमुखीको तेल निर्यात भएको छ ।

तीन अर्ब ९६ करोड मूल्य पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ । त्यस्तैगरी  तीन अर्ब १२ करोड मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

एक अर्ब ६० करोड मूल्य पर्ने सिन्थेटिक यार्न र एक अर्ब ४७ करोड मूल्यबराबरको विभिन्न प्रकारका कपडा विदेशी मुलुकमा निर्यात भएको छ । सोही अवधिमा  एक अर्ब २२ करोड मूल्य पर्ने पशु आहारको कच्चा पदार्थ पिना, चोकर, भुस निर्यात भएको छ ।     
 
 

See More On

सुझावित समाचार