प्रचण्ड भन्छन्– जति दक्षिणतिर गयो उति नै विभेद र अभाव धेरै पाएँ

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले अघि बढाएको जनतासँग माओवादी, तराई मधेश जागरण अभियानले देशको दक्षिण क्षेत्रमा बस्ने जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रूपमा स्थापित गर्ने बताएका छन् । जनतासँग माओवादी, हुलाकी मार्गकेन्द्रित तराई मधेश जागरण अभियानअन्तर्गत आज सुनसरीको बर्जुमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौँदेखि विभेद गरिरहेकाले यसको विरुद्ध संघर्षको झन्डा उठाउन अभियान थालिएको उनले बताए । जति दक्षिणतिर पुग्यो उति नै विभेद र अभाव धेरै पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भौतिक पूर्वाधारको विकासका लागि राज्यको ध्यानाकर्षण गराउन, पार्टीको तर्फबाट गर्न सकिने कामको पहल लिन र मानवीय विकास तथा सचेतनाका लागि पनि यो अभियान फलदायी हुने  विश्वास व्यक्त गरे ।

पार्टीले उत्पीडित वर्गको पक्षमा गरेको बलिदानीपूर्ण आन्दोलनबाट धेरै अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयनमा गति नआएको, आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा थालेको काममा अवरोध गर्न सरकार नै बदलिएको र अहिलेको सरकारले भ्रष्ट, दलाल र बिचौलियाको सेवा गर्नुबाहेक जनताको पक्षमा अरू कुनै काम नगरेकाले जनतालाई सचेत बनाउँदै आफ्नो खबरदारी र जागरणमा अघि बढेको उनले स्पष्ट गरे ।

आफूले सरकारको नेतृत्व गर्दा धेरै मिहिनेत गरेर रासायनिक मलको आपूर्ति सगज गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले फेरि समस्या देखिन थालेको बताए । आफूले धेरै नै मिहिनेत गरेर विद्यालय शिक्षा विधेयक संसदमा पुर्याइएको उल्लेख गर्दै उनले यसलाई पारित गरेर शैक्षिक क्षेत्र सुधारमा पूरै जोड दिनुपर्ने बताए । कार्यक्रममा सुनसरीका स्थापित कृषि व्यवसायी राधाकृष्ण राई माओवादी केन्द्रमा प्रवेश गरेका थिए। अभियान टोली आज दिनभरि सुनसरीमा रहनेछ । आज बर्जुताल अवलोकन, उखु किसानसँग छलफल, मुस्लिम समुदायसँग भेटघाट, गढी र जाल्पपुरमा सभा, कोशी, भोक्राह र मधुवनमा जनभेटघाटलगायतका कार्यक्रम रहेको माओवादी केन्द्र सुनसरीले जनाएको छ ।

सुझावित समाचार