- सन् १९८६ मा हङकङमा भएको एएफसी महिला च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको नेपालले फाइनलमा हारको ‘जिंक’ तोड्न सकेको छैन
नेपाली राष्ट्रिय महिला टोली फेरि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उपविजेतामै सीमित भएको छ । १३औँपटकको अन्तर्राष्ट्रिय फुटबलको उपाधि भिडन्तमा नेपाल बुधबार म्यानमारसँग २–० ले पराजित भयो । फोर नेसन्स कपको फाइनलमा दशरथ रंगशाला १५ हजार पाँच सय घरेलु दर्शकलाई स्तब्ध बनाउन म्यानमारले दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो । आफूभन्दा ४८ स्थानमाथिको म्यानमारलाई नेपालले पहिलो हाफमा दबाबमा राखेको थियो । तर, मध्यान्तरपछि आफ्नो पकड गुमाउनु र डिफेन्सको कमजोरीका कारण नेपाल उपविजेतामै सीमित भएको छ ।
नेपालले सन् १९८६ मा हङकङमा भएको एएफसी महिला च्याम्पियनसिपबाट अन्तर्राष्ट्रियस्तरमा डेब्यु गरेको हो । अहिलेसम्म नेपाली महिला टोली अन्तर्राष्ट्रिय उपाधिविहीन छ । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्यानमारले नेपाललाई चौथोपटक हराएको हो । नेपालले समग्रमा सन् २०१० पछि ६ महिला साफ च्याम्पियनसिप, तीन दक्षिण एसियाली खेलकुद, एक वाफ महिला र अन्य तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल गुमाएको छ । म्यानमारलाई उपाधि दिलाउने क्रममा नो पो खिन र कप्तान विन तुनले समान एक गोल गरे ।
प्रतिस्पर्धाको ६२औँ मिनेटमा नो पोले डिबक्सनजिकबाट एकल प्रयासमा दोस्रो बारमा १–० का लागि गोल गरिन् । एक गोलले पछाडि परेको अवस्थाबाट सम्हालिन प्रयास गरिरहेको नेपालविरुद्ध म्यानमारले खेलको ६४औँ मिनेटमा २–० को अग्रता बनायो । कप्तान विनले प्रहार गरेको बल नेपालकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको खुट्टामा लागेर गोल भयो । यसअघि प्रतियोगिताको राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरी म्यानमारलाई २–२ को बराबरीमा रोकेको थियो ।
अघिल्लो खेलमा म्यानमारले नेपालविरुद्ध २–० को अग्रता लिएको थियो । घरेलु खेलाडीले उत्कृष्ट पुनरागमन गर्दै मध्यान्तरअगाडि नै म्यानमारको पोस्टमा २–२ को बराबरी गोल फर्काएको थियो । तर, उपाधि भिडन्तमा भने नेपाली खेलाडीले त्यही स्तरको खेल प्रदर्शन गर्न सकेनन् । यसपटक डिफेन्स, मिडफिल्ड र स्ट्राइकरबिच खासै तालमेल मिलेको देखिएन ।
नेपालले गुमाएको अवसर
पहिलो हाफमा नेपालले म्यानमारमाथि दबाब बनाएको थियो । यसविपरीत म्यानमारले भने नेपालको रणनीति बुझ्ने प्रयास गर्यो । म्यानमारले डिफेन्स लाइन बलियो बनाउँदा नेपालका खेलाडी उत्कृष्ट फिनिसिङ गर्न चुकेका थिए । खेलको २४औँ मिनेटमा म्यानमारकी सान थाउले प्रहार गरेको बल गोलरक्षक अञ्जिला बिट भइसकेको अवस्थामा विमला विकले गोल लाइनबाट बचाइन् । खेलको ३५औँ मिनेटमा नेपालले गोल गर्ने मौका चुकायो । सावित्रा भण्डारीको प्रहारलाई म्यानमारकी गोलरक्षक मो मो म्याले बचाइन् ।
डिबक्सभित्रै रहेकी रेखाले क्लोज रेन्जमा समेत गोल गर्न सकिनन् । खेलको ४४औँ मिनेटमा नेपालले अर्को मौका गुमाएको थियो । रेणुका नगरकोटेको लामो क्रसमा गोलरक्षक मो म्याले बल राम्रोसँग ‘ग्रिप’मा लिन सकिनन् । उक्त बल क्लोज रेन्जमै रहेका सावित्रा र रेखाले छुन सकेनन् । खेलको ७०औँ मिनेटमा म्यानमारकी गोलरक्षकविरुद्ध वान भर्सेस वानमा रश्मिकुमारी घिसिङ गोल गर्न चुकिन् ।
फोर नेसन्स कपको फाइनलमा स्थान पक्का गर्ने क्रममा नेपालले सुरुवाती दुई खेलमा किर्गिस्तान र लेबनानलाई समान १–० ले हराएको थियो । म्यानमारले लेबनानलाई ३–१ र किर्गिस्तानलाई ५–० ले पाखा लगाएको थियो । लिगको अन्तिम खेलमा म्यानमार र नेपालले बराबरी खेलेका थिए । म्यानमार समूह विजेता र नेपाल उपविजेता हुँदै अन्तिम दुईमा पुगेका हुन् ।
