प्रेरक प्रसंग : पितामाथिको विश्वास

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

एकपटक एउटा हवाईजहाज युरोपबाट अमेरिकाको यात्रामा थियो । हवाईजहाज आन्ध्र महासागरमाथि उडिरहेको थियो । सबै यात्रु आआफ्नो धुनमा थिए । कोही किताब पढिरहेका थिए । कोही मस्त निद्रामा थिए । कोही विमानको झ्यालबाट बाहिरतिर हेरिरहेका थिए । कोही मोबाइलमा गेम खेलिरहेका थिए । कोही भने आफ्नो सिटअगाडिको स्क्रिनमा सिनेमा हेरेर समय बिताउँदै थिए । यत्तिकैमा विमानमा प्राविधिक गडबडी आयो । विमान असन्तुलित भयो । विमान एकैपटक निकै तल झर्यो । सबै यात्रुको सातो गयो । सबै डरले चिच्याउन थाले । सबै यात्रु आफूले मान्ने गरेका र जानेसम्मका देवीदेउता भाक्न थाले । कोही घरपरिवारका आफन्तलाई सम्झेर रुन थाले । कोही एक–अर्कालाई अँगालो मारेर अन्तिम बिदाइस्वरूप रुन थाले । 

विमानको एक छेउको सिटमा एउटी अन्दाजी १२–१३ वर्षकी बालिका बसेकी थिइन् । उनी आरामले मोबाइलमा कुनै खेल खेलेर रमाउँदै थिइन् । विमानमा यस्तो कोलाहल मच्चिँदा पनि उनमा कुनै चिन्ता देखिन्नथ्यो । यस्तो लाग्थ्यो– उनले विमानमा मच्चिएको कोलाहल देखेसुनेकी नै छैनन् । 

संयोगले केहीछिनपछि विमानको गडबडी आफैँ ठिक भयो र विमान स्थिर भएर आफ्नै मार्गमा उड्न थाल्यो । सबैले लामो सास लिए । भगवान्लाई हार्दिकतापूर्वक धन्यवाद दिए । एक–आपसमा बधाई साटासाट गरे । ती बालिकासँगैको सिटमा बसेका एक यात्रुले उनीतिर हेर्दै प्रश्न गरे– नानी, विमानमा यति धेरै खलबली मच्चिँदा पनि तिमीलाई कुनै डर लागेन ? तिमी त आरामसाथ खेलमै मग्न देखिन्थ्यौ । तिमी कान त सुन्छ्यौ नि ?

बालिकाले उनीतिर पुलुक्क हेर्दै जवाफ दिइन्– सुन्छु अंकल, मजाले सुन्छु । यात्रुले पुनः प्रश्न गरे– त्यसो भए विमानमा त्यति ठुलो खैलाबैला मच्चिँदा पनि तिमीले किन कुनै प्रतिक्रिया जनाइनौ त ? बालिकाले मुसुक्क हाँस्दै सहजतापूर्वक जवाफ दिइन्– यो विमान मेरा बाबाले उडाउँदै हुनुहुन्छ । र, उहाँ मलाई कहिल्यै कुनै संकटमा पार्न सक्नुहुन्न । मलाई मेरो बाबा र उहाँको क्षमतामाथि पूरापूर विश्वास छ । त्यसैले, केही गलत भइहाल्छ कि भन्ने व्यर्थको सोच राखेर किन डराउनु ?

सुझावित समाचार