जुम्ला अस्पतालमा हाइडेटिड सिस्टको सफल शल्यक्रिया

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक ल्याप्रोसकोपि प्रविधिबाट कलेजोमा रहेको हाइडेटिड सिस्टको सफल शल्यक्रिया गरिएको हो

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक ल्याप्रोसकोपी प्रविधिबाट कलेजोमा रहेको हाइडेटिड सिस्टको सफल शल्यक्रिया गरिएको छ । प्रतिष्ठानमा यो प्रविधि प्रयोग गरेर पहिलोपटक कलेजोमा रहेको हाइडेटिड सिस्ट शल्यक्रिया गरी निकालिएको हो । ८ फागुनमा सिँजाकी १९ वर्षीया एक महिलाको कलेजोमा हाइडेटिड सिस्टको सफल शल्यक्रिया गरिएको हो । शल्यक्रियापश्चात् ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको शल्यक्रियामा संलग्न जनरल सर्जन डा. सुधन सुवेदीले बताए । 

जनावरबाट मान्छेमा सर्ने परजीवीका कारण हुने यो रोगको पहिचान प्रतिष्ठानमा नै भएको थियो । रोगको पहिचान भएपछि ती महिलालाई एक महिनासम्म परजीवी निरोधक औषधि अल्वेन्डाजोल सेवन गराइएको डा. सुवेदीले बताए।सर्जन डा. सुवेदी, डा. निर्मलसिंह थापा र डा. मुकेश जैसवालको टोलीले सो शल्यक्रिया गरेको हो । त्यसैगरी एनेस्थेसियामा डा. विपिन लुइँटेल र डा. अनिता थापा संलग्न रहेका थिए भने नर्सिङतर्फ विपना बस्नेत र पुष्पा रावलले सहयोग गरेका थिए । 

के हो हाइडेटिड सिस्ट ? 
हाइडेटिड सिस्ट एक किसिमको परजीवी इकाइनोकोकस ग्य्रानोलोससबाट लाग्ने रोग हो । यो परजीवी कुकुरबाट भेडा हुँदै मानिसमा सर्ने गर्दछ । परजीवी कुकुरको पाचन प्रणालीमा प्रजनन गर्दछ र कुकुरको दिसाबाट अन्डकोषरू बाहिर निस्कने गर्दछन् ।

भेडाले चर्ने वेला यस्ता अन्डकोषहरू निल्ने गर्दछ र ती परजीवी भेडाको पाचन प्रणालीमा हुँदै कलेजो फोक्सोलगायत अंगमा विकास हुन्छन् । त्यसैगरी कुकुरले मरेको भेडाको मासु खाएपछि कुकुरको पाचन प्रणालीमा प्रवेश गर्दछ र प्रजनन गर्दछ । यसरी यी परजीवी आफ्नो जीवन चक्र पूरा गर्दछन् । मानिसहरू जब तिनै कुकुरको दिसाबाट निस्केका अन्डकोषहरूको संसर्गमा आउँछन् तब यी परजीवी मानिसको पाचन प्रणाली हुँदै कलेजो र फोक्सोलगायत अंगहरूमा विकास हुने गर्दछन् । 

यस अवस्थालाई हाइडेटिडडोसि भन्ने गरिन्छ । कलेजोको हाइडेटिड सिस्ट भएमा मानिसमा पेट दुख्ने, खान मन नलाग्ने, बान्ता हुने, दुब्लाउँदै जाने, पेटको माथिल्लो भागमा सुजन हुनेजस्ता लक्षण देखिन सक्छन् । यस रोगको समयमै पहिचान गरी औषधि र शल्यक्रियाबाट निदान गर्न सकिन्छ र पूर्ण रूपमा स्वस्थ हुन सकिन्छ । डाक्टरको सल्लाहविना जथाभावी औषधि सेवन गर्न भने हुँदैन । शल्यक्रियाको आधुनिक विकाससँगै पेट चिरेर गरिरे शल्यक्रियाभन्दा दूरविनबाट गरिने शल्यक्रियामा बिरामीका निम्ति अझ बढी सहज हुने, घाउ चाँडै निको हुने डा. सुवेदी बताउँछन् । 

सुझावित समाचार