आयोजक भद्रपुर ब्लेजर्सले मंगलबार बंगलादेशको काउर्न बाजार प्रगति संघलाई टाइब्रेकरमा ४–३ ले हराउँदै भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको बुधबार हुने दोस्रो सेमिफाइनलमा झापा ११ र भुटानको डागा युनाइटेड फुटबल क्लबबिच खेल हुनेछ । यस खेलको विजेताविरुद्ध आयोजकले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
मेची रंगशालामा प्रगति संघ र भद्रपुरबिचको निर्धारित ९० मिनेटमा १–१ को बराबरी भएको थियो । त्यसपछि टाइब्रेकरबाट फाइनल पुग्ने निर्णय लिएको हो । टाइब्रेकरमा प्रगति संघका दुई खेलाडी गोल गर्न चुकेपछि आयोजक भद्रपुर उपाधिनजिक पुगेको हो । भद्रपुरका लागि सत्यम शर्मा, दिवश उराँव, अर्मान्ड र अबयोमीले गोल गरेका थिए । भद्रपुरका कुलदीप कार्कीको प्रहार पोस्टमा लागेर फर्कियो । प्रगति संघका एस सिल्लाह, साहिद र साइडोस्टनले मात्र गोल गरे । कप्तान योसोफ र इब्राहिमका प्रहार पोस्टमा लागेको थियो ।
भद्रपुरको तुलनामा प्रगति संघका खेलाडीबिच तालमेल राम्रो देखिन्थ्यो । भद्रपुरका नियमित खेलाडी नहुँदा पनि पाहुना टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो । दुई खेल खेलेका गोलरक्षक जियारथ सेख सेमिफाइनलमा अनुपस्थित रहे । उनको अनुपस्थितिमा भद्रपुरले टेकेन्द्र थापालाई गोलरक्षकको जिम्मेवारी दिएको थियो । टेकेन्द्र सोमबारै मात्र चर्च ब्वाइजलाई बागमती गोल्डकपको विजेता बनाएर झापा आएका हुन् । भद्रपुरबाट खेलेका स्टाइकर फोडे फोफोनालगायतका खेलाडीको अनुपस्थित रह्यो ।
खेलको २९औँ मिनेटमा भद्रपुरका सत्यमले १–० को अग्रता दिलाए । विदेशी खेलाडी अबयमीले प्रहार गरेको बल डिफेन्डरबाट रिबाउन्स भएको अवस्थामा सत्यमले पोस्टभन्दा १८ यार्ड टाढाबाट गोल गरेका हुन् । प्रगति संघले दोस्रो हाफमा बराबरी गोल फर्कायो । खेलको ६१औँ मिनेटमा प्रगति संघले पुनरागमन गरेको हो । काजी रहदको लङ थ्रो पासमा साकिलले डिबक्सभित्र दोस्रो बारमा उत्कृष्ट हेडिङ गर्दैै टोलीलाई १–१ को बराबरीमा पुर्याए ।
दुवै टोलीका गोल प्रयास
भद्रपुरले केही राम्रा अवसर सदुपयोग गर्न सकेन । खेलको २१औँ मिनेटमा बंगलादेशका गोलरक्षक रब्बी बिट भएको अवस्थामा भद्रपुरका कप्तान आशिष चापागाईंले नजिकबाटै गोल गर्न सकेनन् । उनको प्रहार पहिलो बारमा लागेको थियो । टाइब्रेकरपछि मैदानमा अभद्र व्यवहार गरेका प्रगति संघका गोलरक्षक रब्बीलाई रेफ्री नवीन्द्र महर्जनले रातो कार्ड देखाएका थिए ।
खेल प्रतिस्पर्धात्मक भयो : सचिन्द्र धिमाल, प्रशिक्षक, भद्रपुर
सेमिफाइनलमा दबाब भए पनि खेलबाट म सन्तुष्ट छु । दुवै टोलीबिच निकै प्रतिस्पर्धात्मक भयो । हामीलाई नतिजा आफ्नो पक्षमा ल्याउन गाह्रो भयो ।अब फाइनलको प्रतिद्वन्द्वीअनुसार रणनीति बन्नेछ ।
प्रतिस्पर्धामा स्कोर सबै हो : सोहेल रहमान, प्रशिक्षक, प्रगति संघ
फुटबल खेलमा स्कोर नै सबै हो । सुरुमा भद्रपुरले स्कोर गर्यो । दुवैले खेल राम्रो खेले । त्यसकारण सेमिफाइनलको निर्धारित समय १–१ को बराबरी भएको हो । टाइब्रेकर भनेको भाग्यको खेल हो । टाइब्रेकरमा हाम्रो सुरुका दुईवटा प्रहार गोल भएन । पेनाल्टी मिस गरेपछि कमब्याक गर्न गाह्रो पर्छ ।