बारा प्रहरीले भारत लैजान लागेको अवैध लागुऔषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ। हेटौँडाबाट बारा, पर्सा हुँदै भारत निर्यात गर्न तयार गरिएको उक्त लागुऔषध प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगन्जमा चेकजाँच गर्ने क्रममा एकजनालाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलीपकुमार थापाले हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको बा६३प ८२६२ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाई राखिएको एक किलो ७५० ग्राम लागुऔषध अफिमसहित मोटरसाइकलचालक मकवानपुर कैलाश गाउँपालिका–६, पकनीका २१ वर्षीय रवीन्द्र मोक्तान पक्राउ परेको जानकारी दिए।
पक्राउ परेका मोक्तानविरुद्ध लागुऔषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट १० दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।