घरेलु हतियारसहित उद्योगपरिसरमा पसेर होहल्ला गरेको अभियोगमा निजगढ प्रहरीले एकजनालई पक्राउ गरेर कानुनी कारबाही अघि बढाएको छ ।
निजगढ ६ का अभिषेक शर्माले दिएको जाहेरीको आधारमा प्रहरीले निजगढ नगरपालिका– ६ बस्ने अन्दाजी वर्ष २८ को सहदेव थापालाई पक्राउ गरी अभद्र व्यवहार मुद्दामा कारबाही सुरु गरेको हो ।
अत्यधिक मदिरा सेवन गरी खुकुरी बोकेर निजगढ– ७ स्थित कान्तिपुर पोल्ट्री फर्ममा होहल्ला गर्दै घुमिरहेको अवस्थामा प्रहरीले थापालाई राति ९:३० बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहले जानकारी दिए ।
निरीक्षक कुशवाहका अनुसार प्रहरीले थापाको साथबाट एक–एक थान खुकुरी र चक्कुसमेत बरामद गरेको छ ।