सल्यानमा मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पाको झ्यामबाट सल्यान छत्रेश्वरी गाउँपालिका– १ दमाचौर आउँदै गरेको रा.१क ५३९ नम्बरको मिनीट्रक गएराति ११:५५ बजे जिल्लाको छत्रेश्वरी गाउँपालिका– १ फारुलेबोटमा दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
मृत्यु हुनेमा ट्रकचालक रोल्पाको गंगादेव गाउँपालिका– ३ का ३५ वर्षका हरि चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए। गम्भीर घाइते चालकलाई उपचारका लागि तत्काल सल्यान जिल्ला अस्पतालमा उपचारका क्रममा आज बिहान ६ बजे डाक्टरले मृत घोषणा गरेको उनको भनाइ छ ।
ट्रक सडकबाट करिब ५० मिटर तल खसेको छ। स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेकोे प्रहरीको भनाइ छ ।