दुई सातामै छुटे प्रहरी कुट्ने अखिल नेता

गत २५ माघ राति जोशीसहितका अखिलका युवाद्वारा ड्युटीमा रहेका दुई प्रहरीमाथि ठमेलमा कुटपिट

मंगलबार, १३ फागुन, २०८१
डिजिटल संस्करण

ड्युटीका प्रहरीमाथि कुटपिट गर्ने सत्तारुढ एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थी नेता दुई सातामै छुटेका छन् । अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशी सोमबार १० हजार धरौटीमा छुटेका हुन् । 

जोशीलाई १ फागुनमा प्रहरीले पक्राउ गरेको थियो । उनीसहित पाँचविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर भएको थियो । जिल्ला अदालत, काठमाडौंको आदेशले पाँचैजना धरौटीमा छुटेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए । 

पक्राउ परेकामध्ये रमेश फुलारा १५ हजार, दिनेश सिग्देल, गोपालबहादुर शाही, नवीनसिंह ऐर र दिनेश सिग्देल १०–१० हजार रुपैयाँ धरौटीमा छुटेका हुन् । 

गत २५ माघको राति उनीहरूले क्युआरटी ड्युटीमा रहेका प्रहरी वृत्त दरबारमार्गका हवल्दार जुगलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टलाई ठमेलमा कुटपिट गरेका थिए । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउनुका साथै हेलमेट र लौरो फालेका थिए । प्रहरीको बर्दीसमेत च्यातेका थिए । 

सुरुमा प्रहरीले जोशीलाई जोगाउने प्रयास गरे पनि पछि सर्वत्र प्रश्न उठेपछि उनलाई पनि एक सातापछि पक्राउ गरेको थियो । यस्तो मुद्दामा प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउनेमा दुई सातामै अनुसन्धान सकाएर मुद्दा दायर गरेको थियो । प्रहरीमाथि नै कुट्नेलाई छाड्नसमेत दबाब परेपछि यसरी छिटो मुद्दा बुझाइएको स्रोत बताउँछ ।

गुन्डागर्दीको आरोपमा पक्राउ परेका मुद्दा नचली छुटे 
गुन्डागर्दीको आरोपमा प्रहरीले पक्राउ गरेका सातजना मुद्दा नचली छुटेका छन् । गत २३ माघमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सातजनालाई पक्राउ गरी कारबाहीका लागि काठमाडौं परिसर पठाएको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नपर्ने निर्णय गरेपछि उनीहरू छुटेका छन् । 

धादिङ गल्छीका रोमन आले, तनहुँ भानुका मनोहर थापा मगर र गुणबहादुर गुरुङ, गोरखा आरुघाटका सुमन पराजुली र पदमबहादुर मगर, काभ्रेपलाञ्चोक रोशीका रोशन तामाङ र  दोलखा वैतेश्वरका गोपाल मोक्तानलाई प्रहरीले पक्राउ गरेको थियो । तरबारले केक काटेको र त्यसम्बन्धी भिडियो टिकटकलगायत सामाजिक सञ्जालमा राखेर आतंक मच्चाएको आरोप उनीहरूमाथि थियो । तर, पुरानो भिडियो भएको भन्दै मुद्दा नचलाई उनीहरूलाई छाडिएको छ । यसले प्रहरी अनुसन्धानदेखि सरकारी वकिलको निर्णयसम्ममा प्रश्न उठेको छ । 

सुझावित समाचार