आयोजक केपी ओली क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन्। सोमबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा केपी अोली क्लबले सहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम (एनआरटी)लाई १–० ले हरायो।
अर्को खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २–० ले हराएको हो। एन्फा मैदानमै भएको दिनको पहिलो खेलमा आर्मीलाई जित दिलाउन राष्ट्रिय टोलीका सदस्य नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे।
खेलको १९औँ मिनेटमा नवयुगको गोलमार्फत आर्मीले अग्रता लिएको थियो। उनले जिलेस्पीजंग कार्कीको पासलाई सदुपयोग गरेका हुन्। दिनेशले ८२औँ मिनेटमा गोल गर्दै आर्मीलाई सहज जित दिलाए। उनले नवयुगको पास सदुपयोग गरेका हुन्।
अब, आर्मीले फाइनल प्रवेशका लागि संकटा र एपिएफ क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फागुन १८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्। नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको हरेक जन्मदिनको अवसरमा आयोजना गर्ने प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन्।
प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा साढे ११ बजे विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र संकटा क्लब तथा दोस्रो खेल दिउँसो ३ बजे मच्छिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबिच हुनेछ।
एनआरटी पहिलो खेलबाटै बाहिर
ए डिभिजन क्लब न्युरोडविरुद्ध केपी ओली क्लबले थ्री स्टारमा अनुबन्ध भएका खेलाडी समावेश गरेको थियो। योगेश गुरुङको कप्तानीमा रहेको केपी अोली टिमलाई जिताउन राष्ट्रिय टोलीका सदस्य सुरजजिउ ठकुरीले निर्णायक गोल गरेका हुन्। खेलको ६३औँ मिनेटमा सुरजले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले सीधै जाली चुमेको थियो।
जितसँगै केपी ओली एफसीले अन्तिम चारमा स्थान बनायो। अब केपी ओली एफसीले फाइनल प्रवेशका लागि मच्छिन्द्र र भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसीबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।