राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा मागेकी छिन्। स्वास्थ्य बिमाका लागि बजेट कम भएको भन्ने मन्त्री पौडेलको अभिव्यक्तिप्रति लक्षित गर्दै कार्कीले राजीनामाको विकल्प देखाएकी हुन्।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले स्वास्थ्य बिमाको सीमालाई पाँच लाख पुर्याउँछु भन्ने महत्त्वाकांक्षी सपना बाँड्ने मन्त्रीको भुक्तानी गर्न नसकिने अभिव्यक्ति सुन्दा दुःख लागेको बताइन्।
उनले भनिन्, ‘स्वास्थ्य बिमाको सीमालाई पाँच लाख पुर्याउँछु भन्ने महत्त्वाकांक्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्रीज्यूबाट नै अब यो भुक्तानी गर्न सकिएन, बजेट पुगेन, स्वास्थ्य बिमा बन्द हुन लाग्यो भन्ने लाचार भएर दिनुभएको अभिव्यक्ति सुन्दा दुःख लागेको छ।’
स्वास्थ्य बिमा कार्यक्रम राम्रोसँग चल्दा आफूहरूले ल्याएको भनी जस लिन खोज्नेहरू कार्यक्रमलाई धराशायी बनाएपछि हतोत्साही भएका कार्कीको टिप्पणी छ। ‘यदि सल्लाहकार छैनन्, उपयुक्त सल्लाह लिन सकिँदैन, तथ्यांकगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला, हामी सल्लाह–सुझाव दिन तयार छौँ,’ उनले भनिन्।