उदयपुरको बेलका नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे पालिकामा भएको विवादका कारण कामकारबाही गर्नबाट वञ्चित भएर दुई महिनाअघि नै कार्यालयबाट हिँडेपछि बेलका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो।
अहिले नगरपालिकामा कार्यरत आठौँ तहका अधिकृत रविकिरण आचार्यले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यालय सञ्चालन गर्दै आइरहेका छन्। नगरपालिकाको विवादका कारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेका घिमिरेलाई मन्त्रालयको गत फागुन १ गतेको निर्णयअनुसार स्याङ्जा सरुवा गरिएको छ। घिमिरेको ठाउँमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा मध्यपुर थिमि नगरपालिका भक्तपुरमा कार्यरत रामबहादुर केसीलाई मन्त्रालयले पठाए पनि उनी अहिलेसम्म नगरपालिकामा उपस्थित नभएको नगरपालिकाकी उपमेयर जिरा राईले बताइन्। उनले भनिन्, ‘नयाँ प्रमुख प्रशासकीय अधिकृत आउँदै हुनुहुन्छ भन्ने खबर पाएको धेरै भयो। तर, आउनुभएको छैन। आउनुहुन्छ होला भन्ने आशा छ।’
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा भुक्तानीको काम रोकिएको छ। उपमेयर राईले पालिकाको आर्थिक कारोबार रोकिए पनि अन्य काम भइरहेको बताइन्। बेलका नगरपालिकामा रोजगार सहायक (सेवा करार) पदको नियुक्तिलाई लिएर विवाद भएको थियो।
उक्त विवादका कारण स्थानीय राजनीतिक दलले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखामा ताला लगाएका थिए। नगरपालिकाले रोजगार सहायक (सेवा करार) पदको नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारको ठाउँमा नाम र ठेगाना मिलेकै आधारमा अन्य व्यक्तिलाई कार्यालयले हाजिर गराएको भन्दै विवाद भएको थियो।