धवलागिरिका दुर्गम गाउँ सडक पहुँचमा जोडिए

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण

म्याग्दीको धवलागिरि गाउँपालिका– ४ बगरका हरिप्रसाद तिलिजालाई नजिकको बजार मालिका गाउँपालिकाको केन्द्र दरबाङ पुग्न पूरै दिन पैदलयात्रा गर्नुपर्दथ्यो ।

‘किनमेलका लागि दरबाङ, मुदीको वडा र मुनाको गाउँपालिका कार्यालय पुग्न पूरै दिन पैदलयात्रा गर्नुपर्ने अवस्था थियो’ वडासदस्यसमेत रहेका उनले भने, ‘खच्चड, भरियामार्फत दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानीका क्रममा महँगो शुल्क तिर्नुपर्ने र आकस्मिक अवस्थामा अस्पताल पुग्न हेलिकाेप्टर चार्टर गर्नुपर्ने समस्या सडक यातायातको सुविधासँगै हटेको छ ।’

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने बगर, सिम्कोशका साथै चेचुङ र खिवाङ गाउँका बासिन्दा गाडी चढेर एक घण्टामै दरबाङ, मुदी र मुना पुग्न थालेका छन् । धौलागिरि आधार शिविर जाने पदमार्गको अन्तिम मानवबस्ती बगरमा गत हप्ता सडक पुगेको हो ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले निर्माणाधीन जलविद्युत् आयोजनाको पहुँच मार्ग र सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत निर्माण भएको सडकबाट स्थानीयवासीहरूलाई सुविधा पुगेको बताए ।

धवलागिरि गाउँपालिका– ४ मा निर्माणाधीन ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले मालिका गाउँपालिका– ७ शिवरात्रिखोलादेखि बगरसम्म १५ किलोमिटर पहुँचमार्ग निर्माण गरेका छन् ।

‘जलविद्युत् आयोजनासँगै विकट गाउँबस्तीमा यातायात सुविधा भित्रिएको छ,’ उनले भने, ‘सीमित सरकारी बजेटबाट अक्करे भिर, पहरा छिचोलेर सडक बनाउन वर्षौँ लाग्ने थियो । जलविद्युत् आयोजनाहरू भित्रिएसँगै सडक यातायातको पहुँच विस्तार छिटो भएको छ ।’

हाइड्रो इम्पायर प्रा.लि. प्रवर्द्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत स्थानीयको मागअनुसार करिब दुई महिना डोजर परिचालन गरेर गत महिना नाउरादेखि चेचुङ जोड्ने पाँच किलोमिटर सडक निर्माण सम्पन्न गरेको थियो । चेचुवामा १९ घरधुरी रहेका छन् ।

उक्त आयोजनाले चेचुङको फेदी नाउरामा म्याग्दी नदीमाथि ३६ मिटर लामो बेलिब्रिज जडान गरेको छ । हाइड्रो भिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनासँगको साझेदारीमा नाउरामा म्याग्दी नदीमाथि ३६ मिटर लामो बेलिब्रिज जडान गरेको अपर म्याग्दीको एकल लगानीमा सिम्कोस दोभानस्थित बाँध निर्माण स्थलमा अर्को बेलिब्रिज निर्माणको तयारी गरेको छ ।

यसअघि गत वर्ष म्याग्दी नदीमा निर्माणाधीन तीनवटा जलविद्युत् आयोजनाहरूको लागत साझेदारीमा धवलागिरि गाउँपालिका–४ को लामोछहरा केंकीदेखि खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको थियो । खिवाङमा १८० घरपरिवारको बसोबास छ ।

अपर म्याग्दी– १ जलविद्युत् आयोजनाको बाँध निर्माण स्थलमा म्याग्दी र गुर्जाखोलामा ह्युमपाइप राखेपछि खिवाङ, नाउरा, चेचुङ, बगर, खाम्ला, खारा, बासबोट, छहरीका बासिन्दालाई हिउँदयाममा मुदीको वडा र गाउँपालिका कार्यालय पुग्न दुई घण्टा घुमाउरो सडक प्रयोग गर्नुपर्ने अथवा पैदलयात्रा गर्नुपर्ने समस्या हटेको वडाध्यक्ष यामबहादुर घर्तीले बताए ।

सडकमा जिप, ट्याक्टर, मोटरसाइकल चल्न थालेका छन् । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी, गुर्जा, दरखोलामा तीनवटा जलविद्युत् आयोजना निर्माण सुरु भएका र पाँचवटा निर्माणको तयारीमा रहेकामध्ये धेरैजसोको निर्माण स्थल वडा नं. –४ को भूगोलमा पर्छ ।

आइतबार धवलागिरि गाउँपालिका– ४ बगर पुगेका म्याग्दी १(२)बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले निर्माण भएका सडकमा नियमित र सुरक्षित रूपमा यातायात सञ्चालनको व्यवस्था मिलाउन जलविद्युत् आयोजनाहरूसँग समन्वय गर्ने बताए ।

उनले सडकको धुलोको समस्या समाधानका लागि जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूलाई निर्देशन दिए । दराङ–बिम–ताकम–मुना–ढोरपाटन र धवलागिरि गाउँपालिका– ४ जोड्ने सडकअन्तर्गत मालिका गाउँपालिका–७ शिवरात्रिखोलामा गण्डकी प्रदेश सरकारको लगानीमा २५ मिटर लामो मोटरेबल पुल निर्माण सुरु भएको उनले बताए । रासस

सुझावित समाचार