प्रेरक प्रसंग : हल्लाको पछि दौडिँदा

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण

धेरैअघि जंगलको कुनै रुखमुनि एउटा गधा आराम गरिरहेको थियो । बस्दाबस्दै उसले सोच्यो यदि यो धर्ती फाट्यो भने हाम्रो के हालत होला ! अचानक नजिकै ठुलो आवाज सुनियो । आवाज सुन्नासाथ गधा ‘बचाऊ, बचाऊ’ भन्दै बेतोडले भाग्न थाल्यो । 

गधा भागेको देखेर अर्को गधाले प्रश्न गर्‍यो– ए साथी ! तिमी किन भागिरहेका छौ ? उसले आत्तिँदै भन्यो– तिमी पनि भाग, धर्ती फाट्दै छ ! उसको कुरा सुनेपछि प्रश्नकर्ता गधा पनि चिच्याउँदै भाग्यो । एकैछिनमा सयौँ जनावर उनीहरूसँगै आत्तिँदै चिच्याउँदै भाग्न थाले । हेर्दाहेर्दै जंगलमा भागदौड मच्चियो । 

यो भागदौडबारे जंगलको राजा सिंहले समेत थाहा पायो, भागिरहेका जनावरलाई रोक्दै उसले प्रश्न गर्‍यो– होइन, तिमीहरू किन यसरी भागिरहेका छौ ? भिडको अगाडि रहेको बाँदरले हात जोडेर भन्यो– महाराज ! धर्ती फाट्दै छ । हजुर पनि आफ्नो ज्यान बचाउने भए यहाँबाट भाग्नुहोस् । सिंहले गर्जिंदै प्रश्न ग¥यो– कसले भन्यो यो सब ? सिंहको प्रश्न सुनेपछि सबै एकअर्काको मुख ताक्न थाले । सबैले आफूले अर्काबाट सुनेको भन्दै जाँदा सुरुमा गधाले भनेको थाहा भयो । गधालाई सिंहको अगाडि ल्याइयो ।

सिंहले प्रश्न गर्‍यो– तँलाई धर्ती फाट्दै छ भन्ने कसरी थाहा भयो ? गधाले काम्दै जवाफ दियो– मैले आफ्नै कानले धर्ती फाटेको आवाज सुनेको थिएँ सरकार ! सिंहले भन्यो– त्यसोभए मलाई त्यो धर्ती फाटेको ठाउँ देखाउन हिँड् । सिंहको आदेश पाएपछि थरथर काम्दै गधा अघि लाग्यो । सिंह र अन्य जनावर उसको पछि लागे । आफू पहिले बसिरहेको रुखको फेदमा पुगेपछि गधाले भन्यो– महाराज ! म यहीँ थिएँ । अचानक धर्ती फाटेको आवाज आयो र धुलो पनि उड्यो । अनि म यहाँबाट भागेँ । 

सिंहले रुखको वरिपरि घुमेर हेर्‍यो र त्यसको कारण पत्ता लगायो । अनि उसले आफ्ना प्रजाहरूलाई सम्बोधन गर्दै भन्यो– मेरा प्यारा जंगलवासीहरू हो ! यहाँ नजिकै एउटा नरिवलको अग्लो रुख रहेछ । हावा चल्दा नरिवल झरेर एउटा ठुलो ढुंगामा बजारिएछ र त्यही फुट्दा आएको आवाज र धुलो देखेर यस मूर्ख गधाले धर्ती फाटेको ठानेछ । यो त गधा हो, यसको बुद्धि छैन । तर, तपाईंहरू पनि कसैले ‘कागले कान लग्यो’ भन्दैमा कानै नछामी कागको पछि दौडिनुभयो, होइन ?

सुझावित समाचार