राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण कार्य तत्कालका लागि स्थगन गर्न माग गरेको छ । आइतबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै रास्वपाकी सांसद तोसिमा कार्कीले पार्टीकै तर्फबाट यस्तो माग राखेकी हुन् ।
‘म समग्र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अनुरोध गर्न चाहन्छु– त्यहाँ भइरहेको निर्माण कार्यलाई तत्कालको लागि स्थगन गरेर सम्पूर्ण सरोकारवाला पक्षहरू, समर्थक पक्ष, आन्दोलित पक्ष, आयोजक पक्ष र नागरिकहरूसँग संवाद गरेर वार्तामार्फत यो विषयलाई सम्बोधन गरियोस्, समाधान गरियोस्,’ कार्कीले भनिन् ।
बलमार्फत नभएर सरकारले समाधान वार्तामार्फत गर्नुपर्नेमा उनको जोड छ । अगाडि प्रश्न गर्छिन्, ‘जुन ठाउँमा विकासका योजना लगिन्छ त्यो ठाउँका जनताप्रति लाठी प्रहार गरेर, गोली चलाएर, जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनाश भन्ने ?’