पर्यटन गन्तव्यका लागि जुगाडखोला करिडोर निर्माण हुने

आइतबार, ११ फागुन, २०८१
डिजिटल संस्करण

चन्दननाथ नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटनको गन्तव्य बनाउन सदरमुकाम खलंगा बजारको बिचमा उत्तर–दक्षिण बग्ने जुगाडखोलामा करिडोर निर्माणको काम अघि बढाएको छ । सदरमुकाममा रहेको खोलालाई स्वच्छ, सफा, हराभरा र व्यवस्थित बनाउनेदेखि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिडोर बनाउन थालिएको नगर प्रमुख राजुसिंह कठायतले जानकारी दिए ।

चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले करिडोरको शिलान्यास गर्दै यसले जुगाडखोलालाई नयाँ पहिचान दिने बताइन् । पर्यटन पूर्वाधार निर्माणका लागि करिडोरको रेखांकन यसअघि नै भइसकेको छ । खानेपानी उपभोक्ता समितिको कार्यालय नजिकैबाट डोजर प्रयोग गरी काम सुरु गरिएको नगरपालिका उपप्रमुख खड्काको भनाइ छ ।

बहुवर्षीय योजनाअन्तर्गत पहिलो चरणमा रु. ६ करोड बजेट विनियोजन गरिएको छ । चालू आर्थिक वर्षभित्रै तीन किलोमिटर क्षेत्रमा करिडोर निर्माण गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाको भनाइ छ । खानेपानी उपभोक्ता समितिको कार्यालयदेखि चन्दननाथ– ४ मालाभिडसम्म दायाँबायाँ दुई मिटर फराकिलो करिडोर निर्माण हुनेछ । उक्त करिडोर निर्माणका लागि सहकारी विकास तथा भवन निर्माण आयोजना जुम्लाबाट रु. २० करोड बजेट प्राप्त भएको छ । करिडोरभित्र स्टेट लाइट, सिसिक्यामेरा र विश्रामस्थल निर्माण गरिनेछ ।

सुझावित समाचार